आरन पेशाबाट राम्रो आम्दानी

ठाकुरप्रसाद आचार्य/विकल्प
भदौ १३ गते । aaran news photoधौलागिरि गाउँपालिका २ लुलाङका गोरे विकले पचास वर्ष देखि गाउँमा आरन पेशा गर्दै आउनुभएको छ । आरन पेशाबाट उहाँले दैनिक घरखर्ची चलाउनुका साथै राम्रो आम्दानी पनि गर्नुभएको छ । सुरुमा बालीघरेका रुपमा आरन पेशा गर्दै आउनुभएका विकले अहिले यसलाई व्यवसायिक बनाउनुभएको छ ।

फलाम, तामा, पित्तललगायतका धातुबाट घरेलु हतियार, कृषि औजार र भाँडाकुँडा बनाएर विकले राम्रै आम्दानी गर्नुभएको छ । उमेरले ७० काटीसक्नुभएका विक दैनिक १० देखि १२ घण्टा सम्म आरनमा नै व्यस्त हुनुहुन्छ । बाउबाजेले गर्दै आएको पेशालाई निरन्तरता दिन सानै उमेर देखि आरन पेशाामा लागेको उहाँले बताउनुभयो ।

विकले नयाँ र स्थानीय कच्चापदार्थबाट भाँडाकुँडा बनाएर बिक्री गरिरहनुभएको छ । उत्पादित सामाग्रीको माग वढेकाले पछिल्लो समय आरनबाट विकले राम्रो आम्दानी लिनुभएको छ । पुरानो परम्परागत आरन पेसालाई सुधार गरी आधुनिक प्रविधियुक्त र व्यवस्थित गर्न सकेमा यो पेसाबाट राम्रो आम्दानी लिन सकिने विकले बताउनुभयो । आरन पेशालाई आधुनिकिकरण गरि युवापुस्तालाई आकर्षीत गर्न सकिने उहाँको भनाई छ ।

विकले आफ्नो पुस्तौनी पेसालाई सानै उमेर देखि बालीघरे पेसाबाटै निरन्तरता दिनुभएको थियो  । सुरुमा प्रतिपरिवार केही पाथी अन्नको भरमा काम गर्नुभएको उहाँले बिस्तारै श्रमलाई पैसामा रूपान्तर गर्न थालेपछि राम्रो आम्दानी हुन थाल्यो । पुरानो पेसालाई थोरै व्यवस्थित गर्दा राम्रो आम्दानी भएपछि आफ्ना छोरालाई समेत यही पेसामा लाग्न प्रोत्साहन गरेको उहाँको भनाई छ । राम्रो आम्दानी हुनथालेपछि छोराले पनि साथ दिन थालेको विकले बताउनुभयो ।

एउटा सामान्य आँसी (हँसिया) मर्मत गर्दा २० देखि ५० रुपैयाँ आम्दानी हुन्छ । त्यस्तै कोदालो, खुकुरी, बन्चरोलगायतका घरेलु हतियार मर्मत गरेबापत हतियार अनुसार ४० देखि डेढ सय रुपैयाँसम्म लिने गरेको विकले बताउनुभयो  । उहाँका अनुसार आरनमा घरेलु हतियार र कृषि औजार मर्मत गर्न छिमेकी गाउँ गुर्जा र मुनाका किसान आउँछन ।

विशेषगरी असार–साउन र असोज–कात्तिकको सिजनमा आरनमा भीड हुने गर्दछ । किसानले खेती लगाउने, घाँस काट्ने र धान थन्क्याउने समयमा हँसिया, कोदालो र हलो लगायत औजार मर्मत गर्नेहरूको भीड हुन्छ ।

आरनका लागि आवश्यक मोटर, कोइला, फलाम, तामा र पित्तल लगायतका उपकरण र कच्चापदार्थ जुटाउन समस्या भएको उहाँको भनाई छ । आरन व्यवसायमा देखिएका समस्या समाधान गर्न गाउँपालिकाले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।