बेनपा ६ द्धारा विपन्न बालबालिकाको शिक्षाका लागि कोष स्थापना गर्ने घोषणा

विकल्प न्यूज/बेनी
भदौ १० गते । kishna baniya wada 6बेनी नगरपालिकाको वडा नम्बर ६ ले गरिब तथा अति विपन्न बालबालिकाको शैक्षिक सुनिश्चितताका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ । भदौ १ गते बेनपा ६ की पुजा खत्रीले आर्थिक समस्याका कारण विद्यालयमा आउन नसक्ने भन्दै प्रधानाध्यापकलाई विद्यालयबाट निष्कासन गरिदिन मार्मिक पत्र लेखिकी थिइन । पुजाको जस्तै नियती अन्यबालबालिकाहरुले भोग्न नपरोस भन्दै वडाले कोष स्थापना गर्न लागेको हो  ।

वडा भित्र रहेका अति विपन्न र पारिवारिक विचलनका कारण पठनपाठनमा समस्यामा परेका बालबालिकाको सहयोगका लागि सह शिक्षा कोष स्थापना गर्ने निर्णय भएको वडा अध्यक्ष कृष्ण वहादुर बानियाँले बताउनुभयो ।
जनप्रतिनिधि भएवापत वडा अध्यक्ष र सदस्यहरुले  पाएको सेवासुविधाको रकम पचास हजार रुपियाँ आजै कोषमा जम्मा गरेको उहाँले बताउनुभयो ।

गरिवीका कारण शिक्षाको ज्योतीबाट बञ्चित हुने अवस्था सिर्जना नहोस भनेर कोषको स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । शिक्षाप्रेमी,देश विदेशमा रहेका म्याग्देलीहरु,आमा समुह,सामाुदायिक वन, र युवाक्लबहरुलाई आह्वन गरि कोषमा रकम जम्मा गरिने उहाँले बताउनुभयो । कोषलाई एकवर्षमा  पाँचलाख सम्म पु¥याउने लक्ष्य लिइएको उहाँले बताउनुभयो । कोषमा सहयोग गर्न उहाँले सवैलाई अनुरोध समेत गर्नुभएको छ ।

कोषबाट प्राप्त हुने ब्याजबाट विपन्न बालबालिकाका लागि कापीकलम,पोशाक र दैनिक खाद्यन्न सामाग्री सहयोग गरिने वडा अध्यक्ष बानियाँले बताउनुभयो । वडामा १० जना जति  अति विपन्न बालबालिका रहेको बताउँदै उहाँले ति बालबालिकाको शैक्षिक सुनिश्चिताका लागि वडाले पहल गरेको  बताउनुभयो ।

वडामा रहेका जनप्रतिनिधिहरुलाई परिचालन गरेर गरिबीको रेखामुनी रहेका बालबालिको तथ्याङक लिने योजना रहेको उहाँको भनाई छ । वेनपा ६ मा ३ वटा आधारभूत र एक माध्यमिक विद्यालय छन् ।