ताजा समाचार:
Search

सौन्दर्यकला व्यवसायी संघद्वारा तीज विशेष कार्यक्रममा पुजालाई सहयोग

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, भदौ ९ ।  IMG_0290आर्थिक अभावमा विद्यालयबाट रेष्टिकेट गराइदिनु भनेर चिठी लेखेकी म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी पुजा खत्रीलाई सहयोग आउने क्रम जारीरहेको छ । यसैक्रममा शनिबार सौन्दर्यकला व्यवसायी संघ म्याग्दीद्वारा १२ वर्षीया छात्रा पुजाको परिवारलाई आर्थिक तथा जिन्सी सहयोग गरिएको हो ।

 नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा सौन्दर्यकला व्यवसायी संघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम एवं सहयोग हस्तान्तरण कार्यक्रममा पुजालाई सहयोग उपलब्ध गराइएको संघले जनाएको छ । संघले नगद पाँचहजार पाँचसय, कार्यक्रमका अतिथि र व्युटिसियन महिलाहरुबाट गरी कुल १३ हजार ८०५ रुपैयाँ नगदसहित एकएक वटा बल्याङ्केट र तन्ना सहयोग गरिएको छ । IMG_0266उक्त सामाग्रीहरु कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष प्रमिला जोशी श्रेष्ठले पुजा खत्रीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिलाहरु पेशा व्यवसायबाट आत्मनिर्भर बन्नुपर्ने बताएकी छिन् । उनले आर्थिक उपार्जनका लागि व्यवसायिकमूलक क्षेत्रमा लाग्नुपर्ने भन्दै आर्थिक तथा विपन्न रुपमा पछाडि परेकालाई सहयोग गर्नुपर्ने बताइन् ।

सौन्दर्यकला व्यवसायी संघका केन्द्रीय सदस्य राधाकुमारी मल्ल र म्याग्दी जिल्लाका संस्थापक अध्यक्ष सङ्गीता श्रेष्ठले आर्थिक अभावका कारणले गर्दा महिलाहरु विभिन्न किसिमका हिंसामा पर्ने हुँदा पेशा व्यवसायमा आबद्ध भई आर्थिक उन्नति गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कोषाध्यक्ष हरिकृष्ण गौतमले पुजा खत्रीको पारिवारीक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सोही कार्यक्रमको अवसरमा समाजसेवी लक्ष्मीकुमारी जोशीलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीका अध्यक्ष बिमला गौचन, महिला उद्यम विकास समितिका प्रथम उपाध्यक्ष लक्ष्मी भण्डारी कार्की, लायन्स क्लब अफ बेनी–महारानीका अध्यक्ष हिरादेवी उपाध्याय र पत्रकार रञ्जना श्रेष्ठले मन्तव्य राखेका थिए ।

कार्यक्रम सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष प्रमिला जोशी श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष गंगा थापा कार्कीको स्वागत र सहसचिव पुनम खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा महिलाहरुले दर खानुका साथै नाचगान गरेर नजिकिँदै गरेको तीजको स्वागत गरेका छन् ।