ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरको गाजनेमा रथयात्रा

प्रताप बानियाँ/बेनी
म्याग्दी, भदौ ८ । IMG_0046  म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरको बिहीबार रथयात्रा भएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथको रथयात्रा गरिएको हो ।

कार्यक्रमका अतिथि, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासिन्दा लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति बोकेर रथयात्रा गरेका हुन् । जगन्नाथको रथयात्रा भजनकीर्तन गरी मन्दिर परिसरमा परिक्रमा गराइएको थियो । सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहेको छ । यस दिन जगन्नाथ मन्दिरमा सरकारी भोजको समेत आयोजना गरी खिर खाने चलन रहेको आयोजकले जनाएको छ ।IMG_0047भगवान् जगन्नाथको दर्शनका लागि अन्य समयमा व्यक्तिहरुले १ सय हात साफा ल्याएर आएमा मूर्ति हेर्ने अवसर दिइने परम्परा रहेको थियो । त्यसभन्दा बढीको ल्याएमा पनि मूर्ति देखाउनुपर्ने र तँछाडमछाड हुने भएकाले समितिमार्फत् पुरानो चलनलाई परिवर्तन गरेर श्रावण शुक्लपक्ष द्वादशी तिथिको दिन रथयात्राको आयोजना गर्न थालिएको जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको भनाइ छ ।IMG_0056कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले जगन्नाथ मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने बताइन् । उनले गलेश्वर–कपिलेश्वर–पौलस्त्य–ढोल्ठान दरबार हुँदै जगन्नाथ जोड्ने पदमार्ग निर्माण गरेर धार्मिक पर्यटन बढाउनुपर्ने भन्दै जगन्नाथको संरक्षण एवं प्रवद्र्धनका लागि नगरपालिकामार्फत आवश्यक पहल गरिने बताएकी छिन् ।

बेनपा–५ का वडा अध्यक्ष लक्ष्मण बानियाँले जगन्नाथ क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि मन्दिरको संरक्षण तथा गुफाको डाँडामा भ्यु–टावर निर्माणकार्य अगाडि सारिएको जानकारी दिए । कार्यक्रममा जगन्नाथको इतिहास, महत्व र सरकारी भोजका विषयमा पण्डितहरु भीमनाथ पराजुली, देवीभक्त रिजाल र दण्डपाणि पौडेलले प्रकाश पारेका थिए । कार्यक्रममा गलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद सुवेदीले मन्तव्य राखेका थिएभने म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगर, अनुसन्धान अधिकृत अर्जुन शर्मा, बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलको आतिथ्यता रहेको थियो ।

बिहीबार सरकारी भोजको आयोजना गरिएमा कुल ४५ पाथी चामलको खिर पकाइएको थियो भने कार्यक्रममा स्थानीय आमा समूह, युवा क्लब र गलेश्वर मावि तोरीपानीका विद्यार्थीले स्वयंसेवा गरेका थिए । यसैगरी गलेश्वर वेदविद्याश्रम संस्कृत विद्यालयका बटुकहरुले स्वस्तिवाचन गरेका थिए । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँको अध्यक्षता, सचिव निलकण्ठ शर्माको सञ्चालन र कोषाध्यक्ष रामचन्द्र पौडेलको स्वागतमा सम्पन्न भएको थियो । यस वर्षको रथयात्रामा म्याग्दीसहित विभिन्न जिल्लाबाट भक्तजनहरु जगन्नाथ मन्दिर पुगेका थिए ।

वि.सं. १५५० मा राजा दिलिपबम मल्लले जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किम्बदन्ती उल्लेख रहेको छ । नेपालमै फरक स्वरुपको आजभन्दा ५ सय २५ वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरु रहेका छन् । राजा मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेको बताइन्छ । जगन्नाथकै कारण गाजने गाउँमा कुखुरापालन र मदिरा उत्पादन निषेध गरिएको छ ।