सात करोड लगानीको प्रस्ताव सहित मालिकाको पर्यटन गुरुयोजना तयार

विकल्प न्यूज/बेनी
भदौ ६ गते । 39933111_2183914475225588_347402836373405696_oम्याग्दीको पश्चिम मालिका गाउँपालिकाले पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशिल नेपाल प्रालिको सहकार्यमा गाउँपालिकाले गुरुयोजना तयार पारेका हो ।  गाउँपालिका भित्र रहेका मुख्य पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधारको निर्माण,पदमार्ग र होमस्टेलाई उच्च प्राथमिकता राखेर पाँच वर्षे पर्यटन गुरुयोजना तयार पारिएको हो ।

गुरुयोजनाका रुपमा तयार पारेको पुस्तक बुधबार गाउँपालिका उपाध्यक्ष खरमाया विटालु र प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीलाई  उद्यमशिल नेपाल प्रालीका कुलचन्द्र रेग्मीले हस्तान्तरण गर्नुभएको हो ।

मालिका धुरी,भाले वास्ने ताल,बराह ताल,सोले डाँडा, दुरुलेक र गाइखर्क ताल लगायतका स्थलहरुलाई पर्यटकीय संभावनाका क्षेत्रहरु भनेर पहिचान गरिएको छ ।

पुलाचौरको पछैय देखि टोड्के – मालिका धुरी हुँदै भाले वास्ने तालबाट दरवाङ जोड्ने पदमार्गलाई प्राथमिकतामा राखिएको छ । साथै पर्यटकीय क्षेत्रहरुमा पुग्ने पदमार्गको नक्साङ्कन गरिएको छ । रुम,विम,देविस्थान निस्कोटलाई होमस्टेका रुपमा विकास गर्ने गरि गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

पर्यटन विज्ञ सहितको टोलीले बस्तीस्तरमा पुगेर गुरुयोजना तयार पारेको शुभारम्भका कुलचन्द्र रेग्मीले बताउनुभयो । गाउँपालिकाको सबै बस्तीमा पुगेर स्थानीय अगुवा, जनप्रतिनिधि र विज्ञको राय बमोजिम, पदमार्ग, घरबास (होमस्टे) र पर्यटनका पूर्वाधार निर्माणको संभाबनालाई समेटेर पञ्चबर्षीय गुरुयोजना तयार गरिएको रेग्मीले जानकारी दिनुभयो ।

म्याग्दी भ्रमण वर्षलाई सफल पार्नका लागि गुरुयोजना सहयोगी हुने उहाँले बताउनुभयो । पाँचवर्ष भित्र ७ करोड पचासलाख लगानी गर्ने प्रस्ताव गुरुयोजनामा गरिएको रेग्मीले बताउनुभयो ।
गाउँपालिका भित्र रहका पर्यटकीय क्षेत्रहरु मालिका धुरी, गाइखर्क ताल,बराह ताल, दुरुलेक लगायत क्षेत्रहरुमा भौतिक पूर्वाधारको विकास र त्यहाँ सम्म पुग्नका लागि पदमार्गको नक्साङ्कन सहित गुरुयोजनामा उल्लेख गरिएको छ ।
। पर्यटन विकासका आधरभूत सवै कुराहरु गुरुयोजनामा समेटिएका छन् ।

  गुरुयोजनालाई आधार मानेर पर्यटन विकासका लागि योजना निर्माण गर्ने गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । गुरुयोजनालाई आत्मसाथ गर्दै पर्यटन विकासका क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।
गुरुयोजनाले गाउँपालिका भित्र रहेका पर्यटकीय संभावनाको खोजीसँगै आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको उहाँको भनाई छ ।

 पर्यटन विकासका लागि गुरुयोजनालाई मागदर्शनका रुपमा लिएर गाउँपालिकाले पर्यटन विकासका योजनाहरु तय गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । प्रालिले असार २५ गते दस्तावेजका रुपमा निर्माण गरेको पुस्तक आज गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।