बेनी–जोमसोम सडक एक हप्तापछि सञ्चालन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ४ भदौ ।
म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक एक हप्तापछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । कालीगण्डकीमा आएको बाढीले सडक कटान र पहिरो खसेपछि गत हप्ताको सोमबारदेखि अवरुद्ध बनेको थियो । IMG_8106बेनी–जोमसोम–कोरला सडक आयोजना, आयोजनामा परिचालन भएका निर्माण कम्पनी, अन्नपूर्ण गाउँपालिका र सुरक्षा निकायको सक्रियतामा सडक मर्मत गरेपछि ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन थालेको आयोजनाका ईञ्जिनियर जगत प्रजापतीले जानकारी दिनुभयो ।

म्याग्दीको भिरकाटे, काभ्रेभिर र घाँसाको पहिरो पन्छाउने, कटान गरेको ठाउँमा डाईभर्सन बनाएर सडक मर्मत गरिएको छ । भुरुङ्ग तातोपानीको नागढुङ्गाकामा कालीगण्डकीले सडक कटान गरेपछि पहाड फुटाएर सडक खुलाएको आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले बताउनुभयो । सडक खुलेपछि रोकीएका सवारी साधन र यात्रुहरु आफ्नो गन्तब्यतर्फ लागेका छन् ।

नागढुङगामा कालीगण्डकीमा आएको बाढीले धार परिवर्तन गरेर करिब बिस मिटर सडक कटान गरेर बगाएपछि अक्करे पहाडको फेदीमा रसीमा झुण्डीएर आवत जावत गरेका थिए । सडक अवरुद्ध हुदा म्याग्दी र मुस्ताङका बासिन्दाका साथै मुस्ताङ भ्रमणमा आउने पर्यटक र तिर्थयात्री समेत प्रभावीत भएका थिए ।