सुर्केमेलाका सत्र घर पहिरोको जोखिममा

विकल्प न्यूज/बेनी
साउन २३ गते ।IMG_7607बस्ती माथीको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका ४ सुर्केमेला गाउँ जोखिममा परेको छ । बेनी नगरपालिका ३ को पहाडबाट खसेको पहिरोले खोल्सामा बाढी आउन थालेपछि फेदीमा अवस्थित सुर्केमेला जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएर छेउछाउको बस्तीतर्फ कटान गरेको छ ।

पहिरोका कारण १७ घर जोखिममा परेका स्थानीयबासी टिकाबहादुर रानाले बताउनुभयो । स्थानीयबासी आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । वि.स २०३१ सालमा राखुको भिरबाट खसेको पहिरोले सुर्केमेलामा घर पुर्दा १२ जनाको ज्यान गएको थियो ।

पहिरोको जोखिमको अवस्थाका बारेमा जिल्ला विपद् व्यवस्थापन समिति, नगरपालिका, सुरक्षा निकायलाई जानकारी गराएर क्षति न्युनीकरणको पहल र सावधानी अपनाइएको वडा सदस्य देवबहादुर घलेले बताउनुभयो । पहिरोले बेनी–बरंजा सडक अवरुद्ध बनाएकाले सुर्केमेला, बास्कुना र बरंजामा उत्पादीत दूध बजार पु¥याउन समस्या भएको छ ।

प्रजिअ लिलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा लगायतको टोलीले पहिरोको जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरेर सावधानी अपनाउन अनुरोध गरेको छ । अवरुद्ध सडक सञ्चालन गर्न र थप क्षत्ती हुन नदिनका लागि तारजाली उपलब्ध गराउने प्रजिअ अधिकारीले बताउनुभयो ।
विपद् व्यवस्थापन समिति मार्फत २५ थान तारजाली उपलब्ध गराउने जानकारी दिनुभयो । यसैबीच केही दिनदेखिको बर्षाका कारण म्याग्दीको जनजिवन प्रभावीत बनेको छ । अधिकांश ग्रामिण सडक अवरुद्ध बनेपछि स्थानीयबासीलाई आवत जावत र ढुवानीमा समस्या भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँका सडकमा हिलोमा गाडी फसेर आवत जावत प्रभावीत बनेको प्रनाउ बुढाले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको शिख, घार, घोडेपानी, पाउद्धार, दाना क्षेत्रमा पहिरोले पोल ढलाएपछि विद्युत अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध भएकाले प्राबिधिक पुग्न र सामान लैजान नसकीएकाले विद्युत वितरण लाईन मर्मतमा ढिलाई भएको नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले बताउनुभयो । विद्युत लाईन मर्मतका क्रममा आईतबार एक जना प्राबिधिक घाइते भएका छन् ।