मालढुंगा–बेनी सडक सहज

अगन्धर तिवारी/पर्वत
साउन २१ गते । maldhunga sadakमध्यपहाडी लोकमार्गको मालढुंगाबाट म्याग्दी सदरमुकाम बेनी १३ किलोमिटरको दूरीमा छ । ट्रयाक खुलेको २३ वर्षसम्म पनि यो सडकमा वर्षाको सिजन पहिरो खस्ने क्रम रोकिएको छैन । यस वर्ष पनि साउन महिना सुरु भएपछि यो सडकको दर्जन ठाउँमा पहिरो खसेको छ ।

साउनको पहिलो सातादेखि झरी नरोकिएपछि सडकमा पहिरो झर्ने क्रम पनि रोकिएको छैन । विगतका वर्षमा झरी पर्नासाथ दिनभर सवारी आवागमन ठप्पै हुने यो सडक हाल भने सहज छ । यो सडक हुँदै मुस्ताङसम्म दैनिक धेरै सवारीसाधन सहज रूपमा गुड्न थालेका छन् । यातायातमा सहज भएपछि लामो दूरीका सवारीसाधन सहज आउजाउ गर्न पाएपछि यात्रीलाई सुविस्ता भएको छ । ‘पहिले यही बाटोमा कम्ती सास्ती हुन्थेन,’ यात्री खिम सुवेदीले भने, ‘अहिले धेरै सहज छ ।’ सडकमा सवारी चाप बढी हुँदा पहिरोले सडक अवरुद्ध भएपछि लस्कर लाग्ने सवारी अहिले सहज गन्तव्यमा पुगेका छन् । maldhungaसवारीचालक रामबहादुर विकले यो बर्खा बढीमा आधा घण्टा भन्दा बढी जाममा बस्न नपरेको बताए । ‘साउन १ मा धेरै ठाउँमा पहिरो आएर केही बेर रोकिनुपरेको थियो,’ विकले भने, ‘त्यसपछि धेरै पहिरा खसे । कुनै दिन पनि बाटो रोकिएको छैन ।’ सडकमा खटिएका १० भन्दा बढी कामदार, एक्साभेटर र ट्रिपरले तत्कालै पहिरो पन्छाएपछि यात्रामा सहज भएको सवारीचालकले बताएका छन् ।

सडक विभागअन्तर्गतको बागलुङस्थित सडक डिभिजन कार्यालयले यो १३ किमि सडकका चार स्थानमा छुट्टाछुट्टै समूह परिचालन गरेको छ । दुई हेभी एक्साभेटरसहित एक मिनी एक्साभेटर, टिपर, मिनीटिपर, मिनी डम्फर र त्यससँग सम्बन्धित प्राविधिक, कर्मचारी र मजदुर खटिएपछि हाल पहिरो खस्नासाथ सडक सफा गर्न थालिएको छ । ‘जतिसुकै ठूलो पहिरो गए पनि यो सडक आधा घण्टाभन्दा बढी रोकिएको छैन,’ सडकमा काम गर्दैगरेका प्राविधिक नवराज सुवेदीले भने, ‘हामी यही १३ किलोमिटरमा खटिएका छौं ।’

सडक विभागले भर्खरै ल्याएको मिनी एक्साभेटरले सडकको सानो–सानो नाली सफा गर्न पनि सहज भएको प्राविधिकले बताए । समस्या देखिने सडकमा आलोपालो काम गर्दा सहज भएको प्राविधिकले बताए । ‘हामी रोटेसन गरेर फिल्डमा खटिएका छौं,’ फिल्ड प्राविधिक एवं कार्यालयका सब–इन्जिनियर अर्जुन गौतमले भने, ‘जहाँ जसलाई पायक पर्छ सोही स्थानमा खटिएर काम गर्दा धेरै सहज भएको हो ।’

सडक डिभिजन कार्यालयका प्रमुख थानेश्वर खत्रीका अनुसार मुक्तिनाथ जाने यात्री र सवारीसाधनको चाप बढेपछि यो सडकमा निगरानी बढाइएको हो । ‘अघिल्लो वर्षसम्म हामीसँग एउटा एक्साभेटर मात्रै थियो,’ उनले भने, ‘अहिले धेरै ठाउँमा हारगुहार गरेर इक्युपमेन्ट बढाइयो । कामदार करारमा लिएर फिल्डमा निगरानी बढाइएको छ ।’ उनका अनुसार अहिले मालढुंगा–बेनी र बागलुङ–बेनी सडकमा १० जना कर्मचारी खटिएका छन् ।

त्योबाहेक आवश्यकताअनुसार मजदुर करारमा लिएर पनि काम गराइएको छ । अघिल्लो वर्षसम्म क्षेत्रीय कार्यालय पोखराले मात्रै हेर्दैआएको सडकमा हाल प्राविधिक र मेसिन थप गरिएको छ । पिच गरिएको सडकलाई असर नगर्नेगरी स–साना मेसिन प्रयोग गरिएको कार्यालयले जनाएको छ ।

अघिल्लो वर्षसम्म मुख्य राजमार्गमा मात्रै निगरानी गर्दैआएको सडक डिभिजन कार्यालय बागलुङले यो वर्षदेखि दोबिल्ला–फलेवास, मालढुंगा–बेनीलगायतका शाखा सडकको पनि जिम्मेवारी लिएको छ । पछिल्लो समय स्थानीय सरकारहरूले न्यूनतम प्राविधि मापदण्ड नपुर्‍याई शाखा सडक खन्ने र त्यहाँबाट निस्किने माटो व्यवस्थापन नगर्दा राजमार्गमा बढी क्षति भएको प्राविधिकले बताएका छन् । ‘सडक खनिदिने तर कन्ट्रोल नगर्ने क्रम बढेको छ,’ डिभिजन प्रमुख खत्रीले भने, ‘बिग्रिएपछि हामीलाई दोष आउँछ । सडक खनेर माटो व्यवस्थापन नगर्दा समस्या आएको हो ।’ kantipurdaily.com