पचहत्तर हजार पर्यटकले म्याग्दी भ्रमण गरे

विकल्प न्यूज/बेनी
साउन २० गते । gorepani photo 2एक वर्षको अवधिमा करिब पचहत्तर हजार जना विदेशी पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा म्याग्दी भ्रमण गर्ने पर्यटकहरुको संख्या १४.२६ प्रतिशत अथवा चार हजार ८९७ जनाले बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार २०७४ साउन देखि २०७५ असारसम्म म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ७४ हजार ७३३ जना छ ।

आर्थिक वर्ष २०७३/७४ मा ६९ हजार ८३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ४३ हजार ६३२ जना थियो । कात्तिक महिनामा सबै भन्दा बढी १३ हजार ९२१ जना पर्यटक भ्रमणमा आएको प्रहरीको तथ्याङ्क छ ।

घोडेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङ स्थित प्रहरी चौकीले जिल्ला भित्र्ने र बाहीरीने पर्यटकको विस्तृत विवरण सहितको तथ्याङ्क राख्ने गरिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले बताउनुभयो ।

हिमाली पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा रहेको म्याग्दीमा धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरी, धौलागिरी सेञ्चुरी, धौलागिरी चक्रिय, धौलागिरी आईसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजार लगायत धार्मीक, प्राकृतिक र ऐतिहाँसीक स्थलहरुको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

देशको अवस्था सहज भएको र बन्द हडताल नभएकाले पर्यटक आगमन बढेको घोडेपानी होटल ब्यवस्थापन उपसमितिका उपाध्यक्ष शुशिल पुनले बताउनुभयो । बन्द हडताल नहुने र राजनितिक वातावरण सहज भएमा पर्यटक आगमन बढ्ने उहाँको भनाई छ ।

आन्तरिक पर्यटकको आगमन समेत उल्लेख्य रहेको छ । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसंगै पर्यटकीय स्थलहरुमा सुबिधासम्पन्न होटल तथा लज र पूर्वाधार निर्माणको कामले तिब्रता पाएको छ ।

घोडेपानीका होटल ब्यवसायी टेकसर बुद्धुजाले पर्यटकको संख्या बढेपनि केही वर्षयता उनिहरुले गर्ने खर्चको दर घट्दो रहेकोमा चिन्ता ब्यक्त गर्नुभयो । धेरै खर्च गर्न सक्ने पर्यटक भित्र्याउन र पर्यटन व्यवसायमा कमिसनको लोभमा मौलाउँदो बेथितिलाई नियन्त्रण गर्नुपर्ने म्याग्दीका पर्यटकीय स्थलका होटल व्यवसायीहरुले बताएका छन् ।