बेनी अस्पतालबाट एक वर्षमा तिस हजार जनाले सेवा लिए

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ साउन । IMG_7588बेनी अस्पतालबाट एक वर्षको अवधिमा तिस हजार जना भन्दा बढीले सेवा लिएका छन् । अस्पताल विकास समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा वार्षिक उपलब्धि र आम्दानी, खर्च विवरण सार्वजनिक गरेको हो ।

अस्पतालको अन्तरंग बिभागबाट तिस हजार ३३० र आकस्मीक कक्षबाट छ हजार ६३८ जनाले सेवा लिएको अस्पतालका प्रमुख बरिष्ठ चिकित्सक रोशन न्यौपानेले जानकारी दिनुभयो । छ हजार ३१ वटा मेजर र माईनर शल्यक्रिया सेवा दिएको अस्पतालले पाँच हजार २०२ जनालाई एक्सरे, ६३७ जनालाई ईसीजी र ५९३ जनालाई सुरक्षित गर्भपतन सेवा उपलब्ध गराएको छ ।

अस्पतालमा प्रसुती सेवा लिएका ८८९ जना मध्य ७४ जनाले शल्यक्रिया मार्फत बच्चा जन्माएका थिए । पुरानो भवन भत्काएर नयाँ निर्माण तथा स्थानान्तरण गर्नुपर्दा समस्या भएपछि सेवा प्रवाह र सेवाग्राहीको संख्यामा असर नपरेको बरिष्ठ चिकित्सक न्यौपानेले बताउनुभयो ।

अस्पतालले बिरामीको स्वास्थ्य परिक्षण, परामर्श, आकस्मीक उपचार, प्रसुती, ल्याब, एक्सरेसंगै शल्यक्रिया मार्फत प्रसुती, हर्नीया, हाईड्रोशिल, एपेन्डीसाईट्स, हाडजोर्नी सम्बन्धि शल्यक्रिया सेवा उपलब्ध गराउदै आएको छ । यसैबीच आर्थिक वर्ष २०७४÷७५मा अघिल्लो वर्षको सहित चार करोड २६ लाख ८९ हजार ९३६ रुपैया आम्दानी गरेको अस्पतालले दुई करोड ८४ लाख १५ हजार ८३४ रुपैया खर्च भएको जनाएको छ ।

अस्पतालको कोषमा एक करोड ५३ लाख रुपैया बचत रहेको अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । अस्प्तालले विभिन्न प्रकारका सेवा प्रवाह गरेवापत उक्त आम्दानी गरेको हो । ल्याबबाट ४० लाख, एक्सरेबाट बिस लाख, स्वास्थ्य बिमाबाट चालीस लाख, भिडीयो एक्सरेबाट १४ लाख, प्रयोगात्मक अभ्यासका लागि आउने विद्यार्थीबाट पाँच लाख रुपैया आम्दानी भएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

अध्यक्ष रेग्मीका अनुसार अस्पतालको आम्दानी विकास समितिले भर्ना गरेका कर्मचारी, स्वास्थ्यकर्मी, औषधी, औजार खरिद, विभिन्न कोष स्थापना, भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा परिचालन भएको छ । आफ्नो करिब डेढ वर्षे कार्यकालका क्रममा पुरानो भवन भत्काएर ५० सैया क्षमत्ताको नयाँ भवन निर्माणको सुरुवात, चिकित्सक र स्वास्थ्यकर्मी भवन निर्माण सुरु भएको र अस्थाई भवन बनाएर सेवालाई निरन्तरता दिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

नयाँ एम्बुलेन्स, एक्सरे मेसीन ल्याउन, अस्पतालको सेवाको गुणस्तर सुधारमा पहल गर्नुका साथै नियमित रुपमा पानी आपुर्ती र विद्युतका लागि बैलकल्पीक व्यवस्था मिलाएको उहाँको बताउनुभयो । निर्माणाधिन भवन निर्माण ब्यवसायीको ढिलासुस्तीका कारण सन्तोषजनक काम हुन नसकेकोप्रती अस्पताल प्रशासन र विकास समितिका पदाधीकारीहरुले असन्तुष्टि जनाएका छन् ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले वि.स २०७३ फागुनमा १८ करोड रुपैयामा ठेक्का सम्झौता गरेको भवनको हालसम्म डिपीसी समेत भएको छैन् । पुरानो ठेकेदारबाट काम हुने सम्भावना नरहेकाले ठेक्का रद्द गरेर नयाँ प्रक्रियाबाट निर्माणलाई अघि बढाउन सरोकारवालाहरुले दवाव दिनुपर्ने अध्यक्ष रेग्मीको भनाई छ ।