ताजा समाचार:
Search

लुलाङ र गुर्जाको सीमाना देउराली डाँडामा बाख्रापालन (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
साउन १७ गते । Goat palan nardevi bikबाख्राको स्यार गर्दै नरदेवी विक । तस्विर ठाकुरप्रसाद आचार्य 

केही वर्ष अघि लुलाङकी नरदेवी विकलाई घरखर्च चलाउन र बालबच्चाको पालनपोषण गर्न कठिन थियो । दुइछाक टार्न पनि छिमेकीको घरमा मजदुरी गर्नुपर्ने बाध्याता थियो नरदेवीलाई ।

धौलागिरि गाउँपालिका २ लुलाङ र १ गुर्जाको सिमानामा पर्ने देउराली डाँडामा पाँच वर्ष अघि बाख्रापालन गर्न थालेपछि उहाँलाई यतिखेर घरखर्ची चलाउन कुनै कठिन छैन । बाख्रापालनको आम्दानीले छोराछोरी पढाउन अहिले नरदेवीलाई सहज मात्र भएको छैन वर्षमा केही रकम बचत पनि भएको छ ।

गुर्जा जाने जंगलको विचमा नरदेवीको बाख्रापालन व्यवसाय छ । पाँचवर्ष अघि पाँचवटा बाख्राबाट व्यवसाय सुरु गर्नुभएको नरदेवीका यतिखेर ३५ वटा बाख्रा छन् ।

बाख्रापालनबाट विस्तारै आम्दानी हुन थालेपछि नरदेवी अरुको घरमा मजदुरी गर्न जानुपरेको पनि छैन र बालबच्चालाई पालनपोषणको पनि समस्या छैन । घर खर्चका लागि धेरै संख्यामा बाख्रा चाहिँदैनन् । पालनपोषण, आहारा, र स्याहार सुसारले थोरै बाख्राले खर्चको गर्जाे धान्छ विक बताउनुहुन्छ  । खसी र बोका बिक्रीबाट छोराछोरीको पढाइदेखि घरखर्च जुटाउन सहज भएको विकले बताउनुभयो ।
सुरुमा ऋण गरेर पाँच बाख्रा खरिद गरेकी विकले दोस्रो वर्षमै खसी बेचेर ऋण तिर्नुभयो  । तीन वर्षमा २० बाख्रा पुगे । बख्रापालन व्यवसाय फस्टाउन थालेपछि उत्साहित भएको उहाँले बताउनुभयो । ‘पहिला चामल किन्न साहुकोमा ऋण खोज्न जान्थें  विकले भन्नुभयो, २ वर्ष भयो खसी, बोका बेचेर घरखर्च चलाएकी छु ।’ पाठी, बोका र खसी बिक्रीबाट वर्षमा ६० हजार रुपियाँ आम्दानी हुने उहाँले सुनाउनुभयो ।

‘आफ्नै परिश्रमले पैसा कमाउँदा संसार उज्यालो भएजस्तो भो,’ उहाँले भन्नुभयो ‘काम गर्न उत्साह भएको छ ।’ ऋणको भारीले रातमा निद्रा लाग्दैनथ्यो उहाँले भन्नुभयो ‘अहिले खल्तीमा दुईचार हजार टुट्दैन ।’ बाख्रापालनबाट स्वरोजगार बनेको उहाँको भनाई छ  । चरनको कुनै समस्या छैन तर जंगलको विचमा भएकाले कहिलेकाही जंगली जनावरहरुले बाख्रालाई आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो ।

दुर्गम स्थान भएकाले कहिलेकाही बाख्रालाई रोग लागेमा समयमै उपचार गर्न कठिन हुने गरेको उहाँको भनाई छ । तालिम र अनुदानको व्यवस्था मिलाए व्यवसायलाई अझै वृद्धि गर्ने सोच भएको विकले बताउनुभयो ।

‘महिला आफंै उद्यमशील भएर आम्दानी गर्न सक्छन्’ भन्ने उदाहरण नरदेवीले प्रस्तुत गर्नुभएको गुर्जाका वडा अध्यक्ष झक वहादुर छन्त्यालले बताउनुभयो । महिलाहरुलाई स्वरोजगार बनाउनका लागि गाउँपालिकाले कृषिमा अनुदान र तालिमको व्यवस्था गरेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।