बाबियाचौर र पोखरेबगरमा प्रभु बैंकको शाखा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ साउन । Babiachour Ma Parbhu Bank 3
प्रभु बैंकले म्याग्दीका दुई स्थानीय तहको केन्द्रमा बुधबार एकैसाथ शाखाको स्थापना गरेको छ ।  नेपाल राष्ट्र बैंकबाट (क) बर्गको वाणिज्य बैंकको मान्यता पाएको प्रभुले मंगला गाउँपालिकाको बाबियाचौर र अन्नपूर्णको पोखरेबगरमा शाखा विस्तार गरेको हो । बाबियाचौर शाखाको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र पोखरेबगर शाखाको अन्नपूर्ण गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले उद्घाटन गर्नुभएको थियो ।

शाखा उद्घाटनपछि गाउँपालिका अध्यक्ष रोका र वडा अध्यक्ष बरुवालले क बर्गको बैंकको शाखा स्थापना भएपछि सरकारी कारोबारमा सहज हुने, स्थानीय उद्योगी, ब्यवसायीहरुलाई सुबिधा पुग्ने र ग्रामिण क्षेत्रमा वित्तिय पहुँच स्थापित हुने अपेक्षा व्यक्त गर्नुभयो ।

सबै स्थानीय तहमा क बर्गको बैंकको शाखा विस्तार गर्ने सरकारको लक्ष्य अनुसार नेपाल राष्ट्र बैंकको निर्देशन र सहमती अनुसार म्याग्दीका सबै स्थानीय तहमा शाखा विस्तार गरेको प्रभु बैंकको क्षेत्रीय कार्यालय पोखराका प्रमुख पेशल दाहालले बताउनुभयो ।Babiachour Ma Parbhu Bankयसअघि सदरमुकाम बेनी र मालिका गाउँपालिकाको केन्द दरवाङ बजारमा शाखा स्थापना गरीसकेको प्रभुले असार अन्तिम हप्ता धवलागिरी गाउँपालिकाको ताकम र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शाखा विस्तार गरेको दरवाङ शाखाका प्रमुख बिपीन चोखालले बताउनुभयो ।

बाबियाचौर शाखा उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, वडा न. २ का वडा अध्यक्ष धनबहादुर खाती, पोखरेबगर शाखा उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।