बेनीमा काँग्रेसको बिरोध प्रदर्शन

विकल्प न्यूज/बेनी
साउन १५ गते ।DSC_0051नेपाली काँग्रेसले राष्ट्रिय कार्यक्रम अन्तरगत मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा पनि बिरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि, भ्रष्ट्राचार र राज्य आतङ्क नियन्त्रण गर्नुपर्ने माग गर्दै नेपाली काँग्रेसले मंगलबार म्याग्दी लगायत देशभरका जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन गरेको हो । बेनीमा भएको बिरोध प्रदर्शन पछि संगमचोकमा भएको सभामा बोल्दै नेपाली काँग्रेसका नेताहरुले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।DSC_0046नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद रेशमबहादुर बानियाँले नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउने, विभिन्न राजनीतिक नियुक्ती जस्ता निर्णय खारेज गरेर वर्तमान सरकारले जनबिरोधी चरित्र प्रदर्शन गरेको टिप्पणी गर्नुभयो ।DSC_0042अर्को नेता नेत्रबहादुर महत, जिल्ला सचिव तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, तरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल, अजयमिलन श्रेष्ठ, नेपाल महिला संघका सभापति बिमला गौचन, युवा नेता रमेश श्रेष्ठ लगायतले सरकारले महँगी, कालोबजारी र भ्रष्ट्राचार नियन्त्रणमा सरकारले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका नेताहरुले सरकारले सुन तस्कर समातेर सकारात्मक काम गरेको भएपनि ब्यवसायीहरुलाई तर्साएर आतंक मच्चाएको आरोप लगाउनुभयो । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको अध्यक्षता, उपसभापति माधवप्रसाद रेग्मीको स्वागत र सहसचिव भरत रकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।