गलेश्वरमा दोस्रो सोमबार तिन लाख भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ साउन ।DSC_0015बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार तिन लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । तिस हजार भक्तजनले दर्शन गरेको र तिन लाख सात हजार ५८२ रुपैया भेटि संकलन भएको कोषका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

पहिलो सोमबार दुई लाख ८८ हजार २७१ रुपैयाँ भेटि संकलन भएको थियो । यसैबीच मंगलबार नेपाली सेनाको श्रीबक्स गुल्मको टोलीले गलेश्वर मन्दिर सरसफाई गरेका छन् । सेनाको टोलीले मन्दिर परिसरमा भक्तजनले फालेका फोहोर संकलन गरेर ब्यवस्थापन गरेका हुन् ।

कालिगण्डकी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी, शिवरात्री पर्वमा बिशेष मेला लाग्ने गर्छ ।