बेनीका पर्यटकीय स्थलमा पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी
साउन ८ गते । IMG_6841म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा रहेका धार्मीक पर्यटकीय स्थलमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङ, धौलागिरी, अन्नपूर्ण हिमाल र ढोरपाटन शिकार आरक्षको प्रवेशद्धार बेनीको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्न थालिएको हो । बेनीका आसपासमा रहेका पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधार निर्माण गर्न सरकारी र निजी क्षेत्रबाट पहल हुन थालेको छ ।

ग्रामिण सडक विस्तारसंगै छोटिएको धौलागिरी चक्रिय पदमार्गको बिकल्पमा बेनी देखि धार्मीक स्थल पछै, पुलाश्रम, जगन्नाथ, प्राकृतिक भ्यु पोईन्ट टोड्के, मालीका धुरी, बिम, मराङ हुँदै धौलागिरी आधार शिवीर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।

चार वर्षअघि पहिचान भएको बैकल्पीक पदमार्गमा बेनी नगरपालिका, पर्यटन विभाग र समुदायले पूर्वाधार निर्माण सुरु गरेका छन् । पर्यटन बिभाग र बेनी नगरपालिकाको करिब चालिस लाख रुपैयाँ सहयोगमा बेनी बजारदेखि प्रस्तावित रामायण उद्यान निर्माण स्थल आपँरुख जोड्ने उकालो बाटोमा एक किलोमिटर पक्की सिढी सहितको पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

५७ लाख रुपैयाँ लागत अनुमान गरिएको बेनी बजारको हाँडेभिर देखि बेनी नगरपालिका २ खबरा स्थित लभ्लीहिल जोड्ने पक्की पदमार्ग निर्माणका लागि नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी उद्योग वाणिज्य संघबिच सम्झौता भएको छ । बेनी बजारको शिरमा रहेको आँपरुख, पछै र पुलाश्रम क्षेत्रलाई समेटेर रामायण उद्यान निर्माण गर्न बेनी नगरपालिकाले डिपीआर तयार पार्ने काम अन्तिम चरणमा पु¥याएको छ । डिपीआर बनेपछि यसै वर्षदेखि रामायण उद्यान निर्माण सुरु गर्न नगरपालिकाले ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताउनुभयो ।

नगरपालिकाले सिंगा तातोपानी कुण्ड, जगन्नाथ, गलेश्वर, ज्यामरुककोट, स्वर्गाश्रम, पछै, पुलाश्रम र बेनी बजारका धार्मीक पर्यटकीय स्थलमा पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिने नीति लिएको छ । ब्यापारिक केन्द्रको रुपमा रहेको बेनीमा ग्रामिण सडक विस्तार र संघीयताको कार्यान्वयनसंगै व्यवसायिक गतिबिधिमा गिरावट आएपछि पर्यटकीय केन्द्र बनाउने विकल्प अघि सारीएको म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुबिर कुमार श्रेष्ठले बताउनुभयो ।

मुस्ताङ र म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमणमा आउने पर्यटकहरुको बेनी बसाई लम्बाउनका लागि एकिकृत पर्यटन गुरुयोजना तयार पारी पूर्वाधार निर्माण, संरक्षण, व्यवस्थापन र प्रचारप्रसारमा ध्यान दिनुपर्ने देखिएको छ ।