धौलागिरि गाउँपालिकाको “एक विद्यार्थी एक बोट ओखर” कार्यक्रम

विकल्प न्यूज/बेनी
साउन ६ गते । dhaulagiri gaupalika

धवलागिरी गाउँपालिकाले “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट दश लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रमले स्थानीयबासीको आयआर्जन, वातावरण संरक्षण र वन विकासमा समेत सहयोग पुग्ने अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

अघिकांश उच्च पहाडी भुगोलमा अवस्थित गाउँपालिकामा बालबालिकाको वौद्धिक क्षमता विकासमा उपयोगी मानिएको ओखर खेती प्रवद्र्धन गरी शैक्षिक र आयआर्जनको सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षमा गाउँपालिकाका सबै घर र विद्यार्थीलाई कम्तीमा एक वटाका दरले दाते जातको ओखरको विरुवा वितरण गरिने भएको छ ।

भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाले सडक विस्तार, स्तरोन्नती र केन्द्रिय प्रशारण लाईन विस्तारमा प्राथमिकता दिएर आगामी आर्थिक वर्षका लागि ३२ करोड २६ लाख ६९ हजार ८२५ रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

निर्माणाधिन मुना मुदी सडकलाई ८० लाख, ताकम विद्युतीकरणका लागि ९० लाख, लुलाङ दरखोला दोस्रो लघुजलविद्युत परियोजनालाई पचास लाख रुपैयाँ बजेट बिनियोजन गरेको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

विद्यार्थी भर्ना दर उच्च राख्न तथा विद्यालय छाड्ने दरलाई न्युन राख्न ५ नम्बर वडा मल्कवाङ र ताकममा विद्यार्थी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न पाँच लाख बजेट बिनियोजन भएको छ । अन्य ५ वटा वडामा गुड नेवर्स ईन्टरनेशनलले म्याग्दी सामुदायिक विकास परियोजना मार्फत यस्तै प्रकृतीको कार्यक्रम सञ्चालन गरेको छ ।

शून्य दरबन्दिरमा सञ्चालीत समस्याग्रस्त सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि १८ लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको गाउँपालिकाले नमुना विद्यालय कार्यक्रमका लागि १५ लाख छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

गाउँपालिकाबाट एसईई परिक्षामा उत्कृष्ट अंक हासील गर्ने एक छात्र र एक छात्रालाई नगद पाँच ÷पाँच हजार रुपैयाँ सहित अध्यक्ष, उपाध्यक्ष छात्रवृत्ति प्रदान गरिने भएको छ ।