बेनी–जोमसोम सडक राती बन्द हुने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ४ साउन । sadak problem 1फाइल तस्विर

म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा रातीको समयमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बेनीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन ५ गतेदेखि लागु हुने गरी बेनी–घाँसा खण्डमा रातको समयमा सवारी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो ।

२०७५ साउन ५ गतेदेखि ३१ गते सम्मका लागि गलेश्वर देखि जोमसोम तर्फ जाने सवारी साधनहरु बेलुकी ५ः३० देखि बिहान ५ बजेसम्म र घाँसाबाट बेनीतर्फ आउने सवारी साधनहरु साँझ ६ देखि बिहान ५ बजेसम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

अबिरल बर्षाको कारण विभिन्न स्थानमा सडक माथिबाट पहिरो खस्ने तथा भासिन गई दुर्घटना हुन सक्ने जोखिमको अवस्थालाई मध्यनजर गरेर रातीको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको प्रजिअ अधिकारीले बताउनुभयो ।

७६ किलोमिटर दुरीको यो सडक हाल निर्माणाधिन अवस्थामा छ । सडक फराकीलो बनाउन पहाड र पाखो काट्ने काम गरिएको छ । अत्यावश्यक सवारी साधन बाहेककालाई यो नियम लागु गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।