रितुङ पुस्तकालको अक्षयकोषलाई अमेरिकाबाट ४२ हजार सहयाेग

अनिल पौडेल/बेनी

साउन ४ गते । kubम्याग्दीको रघुगंगा–८ कुईनेमँगलेस्थित रितुङ मावि दुलेखर्कमा स्थापना भएको रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ४२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

कुईनेमँगलेस्थित चौरखानीका खुममायाँ छन्त्याल, इनमायाँ छन्त्याल (इशा), लक्ष्मी छन्त्याल र ललित छन्त्यालले आफ्नो स्वर्गीय हजुरबुवा दलबहादुर छन्त्याल र हजुरआमा तुलसा छन्त्यालको स्मृतिमा एकमुष्ट ४२ हजार रुपैयाँ उपलब्ध गराएका हुन् ।

एकै परिवारका तीन दिदि बहिनी र भाई आमा–बुबासँगै अध्ययन र रोजगारको सिलसिलामा अमेरिकामा छन् ।

ललितले केही समय रितुङ माविमा अध्ययन गरेका थिए । गाउँ ठाउँको विद्यालयमा स्थापित पुस्तकालयको दीगोपनाका लागि सहयोग गरिएको कान्छी बहिनी लक्ष्मी छन्त्यालले बताइन् । ‘यो सबै हजुरबुवा र आमालाई समर्पित गरेका हौँ ।

बुबा–आमासँगै हजुरआमाले हामीलाई धेरै दुख गरि पढाउनुभो तर अहिले हामीले कमाई गर्ने बेला हजुरआमा–बाबा हुनुहुन्न’, उनले भनिन्, ‘जहाँ भएपनि गाउँसमाजको विकासमा सकेको सहयोग गर्नेछौँ ।’ जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको यात्रापछि पुगिने रितुङ मावि शून्य दरबन्दीका कारण स्थानीयले चन्दा संकलन मार्फत सञ्चालन गर्दै आएका छन् ।

स्वदेश तथा विदेशमा रहेका स्थानीय, साविक जिल्ला शिक्षा कार्यालयको करीब ८ लाख रुपैयाँका लागतमा गत जेठ महिनामा पुस्तकालय स्थापना भएको हो ।

पुस्तकालयको दीगो व्यवस्थापनका लागि सञ्चालित अक्षयकोष स्थापना अभियान उत्साहजनक रुपमा अघि बढेको छ ।

अहिलेसम्म अक्षयकोषमा एकलाख ५० हजार भन्दा बढी रकम संकलन भइसकेको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल छन्त्यालले जानकारी दिए ।

‘अब साउन महिनाभर जति रकम संकलन हुन्छ, त्यसलाई अक्षयकोषमा राख्नेछौँ र यसको व्याजबाट पुस्तकालयमा नयाँ पुस्तक र कर्मचारी व्यवस्थापनको काम गर्नेछौँ’, उनले भने ।