ताजा समाचार:
Search

दाङखोलाको बेलिब्रिज काे बारेमा भएका टिप्पणीकाे गाउँपालिकाद्धारा खण्डन

सन्तोष गौतम /विकल्प
म्याग्दी ३ साउन ।FB_IMG_1532015258691 धवलागिरी गाउँपालिकाले फेदी स्थित दाङखोलामा निर्माण भएको “बेलिब्रिज”को बारेमा सामाजिक सञ्जालमा भएका टिप्पणी र आरोपको खण्डन गरेको छ ।

मालिका गाउँपालिका ५ र धवलागिरी गाउँपालिका ७ को सिमानामा निर्मीत (बेलिब्रिज) नामाकरण गरिएको अस्थाई प्रकृतीको मोटरेबल पुलको गुणस्तर, लागत, दिगोपना र विश्वसनीयताको विषयमा सामाजिक सञ्जालमा टिप्पणी र आलोचना भईरहेको छ ।

गाउँपालिकाले बिहीबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थमसरा पुनले टिप्पणीप्रती गम्भिर ध्यानाकर्षण, आरोपमा सत्यता नभएको र उपभोक्ता समितिले सम्झौता, लागत ईस्टिमेट अनुसार काम गरेको बताउनुभयो ।

सामाजिक सञ्जालमा भनिएजस्तो पुल निर्माणमा अनियमितता नभएको दावी गर्दै अध्यक्ष पुनले बामे सर्दै गरेको गाउँपालिकाको प्रयासलाई सकारात्मक रुपमा लिन आग्रह गर्नुभयो । सम्बन्धित निकायबाट हुने अनुगमन, छानविन तथा जाँचबुझ आदीको लागि गाउँपालिकाले सहयोग गर्ने समेत अध्यक्ष पुनले स्पष्ट पार्नुभयो ।

विकास निर्माण, सार्वजनिक सेवा प्रवाहको विषयमा नागरीकबाट निगरानी, चासो, चिन्ता, अनुगमन, रचनात्मक सुझाव, आलोचनाको अपेक्षा व्यक्त गर्दै उहाँले तथ्य र प्रमाण बिना सामाजिक सञ्जालमा लगाइएका आरोपबाट भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

उपभोक्ता समिति मार्फत गाउँपालिकाको चौबिस लाख ९६ हजार र उपभोक्ताको दुई लाख ८९ हजार ८८५ रुपैया लगानीमा पुलको जग खन्ने, सोलीङ गर्ने, पिसीसी, आरसीसी ढलान गर्ने, ग्यावियन पर्खाल लगाउने र सल्लाको काठ राख्ने काम गरिएको छ । पुलमा प्रयोग भएका आठ वटा मध्य तिन वटा फलामको बिम दरवाङबाट पुरानो लगीएको र पाच वटा बिम गाउँपालिकाले खरिद, ढुवानी गरेर उपलब्ध गराएको हो ।

बिम खरिद, ढुवानी, फिटीङ, जडान, फेब्रिकेशन र कलरीङ गर्ने कार्यमा गाउँपालिकाबाट थप सात लाख २८ हजार रुपैया खर्च भएको प्राबिधिक बालकृष्ण पौडेलले बताउनुभयो । बिमको सहित पुलको कुल लागत ३५ लाख आठ हजार रुपैया भएको जानकारी गराउदै प्राबिधिक पौडेलले तोकिएको गुणस्तर, मापदण्ड र ईस्टिमेट अनुसारको काम भएको बताउनुभयो ।

जगदेखि पाँच मिटर २० सेन्टि मिटर अग्लो तिन वटा पक्कि पिल्लर निर्माण भएको छ । दाया बायाको पिल्लरको चौडाई चार मिटर र बिचको पिल्लरको चौडाई तिन मिटर ७० सेन्टिमिटर छ । पुलको लम्बाई १८ मिटर र चौडाई ३.५ मिटर छ । धवलागिरी गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ–धारापानी–ताकम–मुना सडक अन्तरगत दाङखोलामा बर्खाको समयमा बाढी आउँदा सवारी आवत जावत अवरुद्ध हुने समस्या थियो ।

प्राबिधिक भाषामा अस्थाई मोटरेबल पुल भएपनी आम नागरीकलाई बुझ्नको सहजताका लागि बेलिब्रिजको भाषा प्रयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । यस्तै प्रकृतिको पुल यसअघि मालढुङ्गा बेनी सडकमा समेत बनाएर एक दशक भन्दा बढी समय प्रयोग गरिएको उहाँको भनाई छ ।
पुल बनेपछि देविस्थानको सडकबाट थापाचौरको भिरमा पहिरो नखसेको अवस्था बाहेकको समयमा धारापानी ताकमतर्फ सिधा सवारी सञ्चालन गर्न सकिने भएको छ । खोलामा जोखिम मोलेर सवारी साधन तार्नुपर्ने र गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने समस्या हटेको छ । गाउँपालिकाका अधिकांश बासिन्दा यसबाट लाभान्वित भएका छन् ।

पुल निर्माण समितिका अध्यक्ष भिमप्रसाद छन्त्याल र सचिव निलप्रकाश थापा (सरोज)ले मंगलबार विज्ञप्ती मार्फत हिसाव सार्वजनीक र आरोपको खण्डन गर्नुभएको थियो ।