म्याग्दीमा ९१ प्रतिशत बजेट खर्च

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३ गते  साउन । old vdc new wards

आर्थिक वर्ष २०७४७५ मा म्याग्दीमा आएको ९१ प्रतिशत बजेट खर्च भएको छ ।  म्याग्दीका छ वटा स्थानीय तह सहित ४० वटा सरकारी कार्यालयहरुमा तिन अरब २६ करोड ७२ लाख ६२ हजार ३०८ रुपैया बजेट आएकोमा दुई अरब ६८ करोड ९२ लाख ६२ हजार ४४६ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ

चालु तर्फ दुई अरब ८६ करोड ८४ लाख ६५ हजार ५५८ रुपैया बजेट आएकोमा दुई अरब ६७ करोड ८५ लाख ४३ हजार ३३ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रक छबिन्द्र बेल्वासेले जानकारी दिनुभयो । कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, शिक्षकको तलबभत्राका साथै स्थानीय तहको अनुदानलाई समेत चालु शिर्षकमै खर्च गर्ने अख्तियारी आएको थियो ।
पुजीगततर्फ ३६ करोड ८७ लाख ९६ हजार ७२० रुपैया बजेट प्राप्त भएकोमा ३१ करोड सात लाख १९ हजार ४१३ रुपैया खर्च भएको भएको छ । चालुतर्फ ९२.४१ र पुजीगततर्फ ८४.२५ प्रतिशत बजेट खर्च भएको छ । पुजीगततर्फको ४६ प्रतिशत बजेट आर्थिक वर्षको अन्तिम महिना असारमा खर्च भएको कोलेनिकाले जनाएको छ ।

बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट असार ३२ गतेनै उपलब्ध गराएका थिए । धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले तोकिएको समयमा कोलेनिकामा हिसाब बिवरण नबुझाएकाले महालेखा नियन्त्रकको कार्यालयको निर्देशन अनुसार चेकको भुक्तानी रोक्का गर्न बैङ्कमा पत्राचार गरेको कोलेनिका प्रमुख बेल्वासेले बताउनुभयो ।
भौगोलिक बिकटता र कर्मचारी अभावको बाहना बनाएर आर्थिक वर्ष सकिएपनि वित्तिय अनुशासन विपरीत पुरानो मिती राखेर चेक जारी गरेको हुन सक्ने बेल्वासेको भनाई छ । स्थानीय तहले हिसाब र भुक्तानी हुन बाँकी चेकको विवरण उपलब्ध गराएपछि मात्र भुक्तानी फुकुवा गरिने कोलेनिकाले जनाएको छ ।
यसैबीच आर्थिक वर्ष २०७४÷७५ मा म्याग्दीका कार्यालयहरु मार्फत ११ करोड १३ लाख ३१ हजार ८८७ रुपैया राजस्व संकलन भएको कोलेनिकाका लेखापाल बिकास पौडेलले बताउनुभयो । सबैभन्दा बढी कोलेनिकाले पाँच करोड ८५ लाख दश हजार ८९१ रुपैया राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासनले एक करोड ६१ लाख ८१ हजार ८२०, मालपोतले एक करोड २४ लाख ५९ हजार ७२९, ट्राफिक प्रहरीले ५३ लाख ५९ हजार पाँच सय, घरेलु तथा साना उद्योग विकास समितिले ३२ लाख ८१ हजार ५९५ रुपैया राजस्व संकलन गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष२०७३७४ का लागि कुल तिन खर्ब १९ करोड ६७ लाख ३८ हजार ९४४ रुपैया अख्तियारी प्राप्त भएकोमा दुई अर्ब ५२ करोड ६३ लाख १४ हजार १५६ रुपैया मात्र खर्च भएको थियो ।