पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते, बिस घर विस्थापित

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ साउन ।P1022415 म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ र ८ मा पर्ने लस्तीमा पहिरो जाँदा एक जनाको मृत्य, तिन घाईते र बिस घर विस्थापित भएका छन् ।

जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा १७ वर्षिय विकास परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाकै कारण जलजला गाउँपालिका–७ धाइरिङ बास्कोटका भीमलाल आचार्यको घर पहिरोले पुरिँदा भिमलाल सहित, तुलसीदेवी र नारायणी आचार्य घाईते भएका छन् ।

टाउको, ढाड र हातमा चोट लागेर घाइते भएका उनिहरुलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ । धाईरीङमा पहिरोले क्षत्ती पुगेका १५ घरलाई फर्से धाईरीङ माविमा स्थानान्तरण गरी प्रशासनले तत्कालको खान र बस्नको लागि राहत वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको टोलीले मृतक परियारको परिवारलाई तत्काल राहतस्वरुप एक लाख रुपैया उपलब्ध गराएको छ । लस्ती खोलामा बाढी आएपछि किनारमा रहेका पाँच घरका वासिन्दा खोलाको कटानका कारण विस्थापित बनेका छन् ।

सारंगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण अवरुद्ध भएको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने मालढुङगा–बेनी सडक सडक डिभिजन कार्यालय बागलुङ, सुरक्षाकर्मी र यातायात व्यवसायीको पहलमा दिउँसोदेखि सञ्चालन गरिएको छ ।
सडकमा गुडिरहेको ध १ ज ५४२ नं को एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुसल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिनुभयो ।