‘टुक्रे योजना परिणाममुखी हुदैन्’ ः अध्यक्ष जुग्जाली

विकल्प न्यूज/मालिका
चैत ५ गते ।Resham Jukjali स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेद्वार बनेर बिजयी हुनुभएका मालीका गाउँपालिका ७ बिमका वडा अध्यक्ष रेशम जुक्जाली (सुवीन) गाउँपालिकाको भौतिक पूर्वाधार समितिको संयोजक समेत हुनुहुन्छ । जनप्रतिनिधि बन्नु अघि गाउँमा सञ्चालीत विभिन्न योजनाहरुको नेतृत्व गरेर अनुभव संगालेका युवा नेता जुग्जालीसंग बिमको विकास निर्माणको अवस्थाका विषयमा केन्द्रित रहेर नवविकल्प साप्ताहिकका लागि सन्तोष गौतमले गरेको संक्षीप्त कुराकानी ः

–बिममा सञ्चालीत विकास योजनाहरुको कार्यान्वयको अवस्था कस्तो छ ?

मालीका गाउँपालिकाले ७ नम्बर वडा बिममा पुँजीगत शिर्षकमा बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन तिब्र रुपमा भैरहेको छ । सडक स्तारोन्नती र नयाँ ट्याक बनाउने योजना सम्पन्न भैसकेका छन् । १९ लाख रुपैयाँ बिनियोजन भएको बिम्बाङ अस्तवाङ अर्कला विद्युतीकरण योजनाको उपभोक्ता समिति गठन र सम्झौता गरीएको छ । अब छिट्टै काम सुरु हुन्छ । लक्षित वर्गको बाहेक सबै योजनाको काम तिब्र रुपमा भैरहेको छ ।
–कसरी छिटो काम भयो ?
बजेट बिनियोजन भएपनि काम गर्न असार मसान्त कुर्ने पुरानो प्रवृतीलाई तोड्ने हामी जनप्रतिनिधिहरुले गाउँपालिका र वडा स्तरमा छलफल ग¥यो । वडाको बैठक बसेर जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन, सम्झौता र कार्यान्वयनका लागि सहजिकरण, समन्वय गर्ने निर्णय ग¥यौ । बैशाख महिनाभित्र वडाका पूर्वाधार योजना सम्पन्न गर्ने कार्ययोजना बनायौ । सोही अनुसार बजेट बिनियोजन भएका योजना प्रभावीत क्षेत्रका जनताको भेला मार्फत उपभोक्ता समिति गठन भयो । सम्झौता देखि कार्यान्वयन र फरफारक गर्ने प्रक्रियाका विषयमा उपभोक्ता समितिका पदाधीकारीहरुलाई अभिमुखीकरण गरेका थियौ । त्यसैका कारण यसपाली मंसिर, पुष महिना देखिनै योजना कार्यान्वयन सुरु भयो । तिब्र गतिमा उपभोक्ता समितिहरुले काम गरिरहनुभएको छ ।

–तपाईको वडामा टुक्रे योजना छन् की छैनन् ? टुक्रे योजना परिणाम मुखी भएनन् भन्ने गुनासो छ । यसमा तपाईको प्रतिक्रिया के छ ?

सबै बस्ती र जनतालाई चित्त बुझाउने नाममा थोरै थोरै बजेटका धेरै योजना बनाएर बजेटलाई चारो झै छर्ने पुरानो परम्परा हो । तर यसलाई हामीले तोडेका छौ जस्तो लाग्छ । हामीले निर्वाचित भएलगत्तै सबै बस्तीमा पुगेर त्यहाँका जनतासंग छलफल गरेर आवश्यकता पहिचान गरेर परिणाममुखी योजनाहरुलाई बजेट बिनियोजनका लागि गाउँपालीकामा प्रस्ताव गरेका थियौ । त्यसैले समस्या छैन् । टुक्रे योजनाका कारण बजेट छरिने र परिणाम नदेखिने विगतको अवस्थालाई बुझेर बजेट केन्द्रित गरेर परिणाममुखी, स्थायित्व हुने किसीमका योजना सञ्चालन गरेका छौं । ठोस र प्रभावकारी योजना बनाउनुपर्छ भन्ने मान्यता अनुसार काम गरेका छौं । जनतालाई त्यही भनेर बुझाएका छांै । बजेट छर्दा केही मानीसको चित्त बुझाउन त सकिएला तर बजेटको दुरुपयोग हुने, परिणाम नदेखिने र स्थायित्व हँुदैन भन्नेतर्फ हामी सचेत छौं ।
–विकास योजनामा जनसहभागिताको अवस्थाको कस्तो छ ?

बिमका बासिन्दा विकासमा सहभागिताका हिसाबले विगत देखिनै अगाडी छन् । सडक निर्माण, लघुजलविद्युत, केन्द्रिय विद्युतीकरण, खानेपानी जस्ता विगतमा सञ्चालीत योजनामा सरकारी निकायको अनुदान भन्दा दोब्बर बढी श्रम र नगद जुटाएर यहाँका बासिन्दाले काम गरेका छन् । अहिले गाउँपालिका अन्तरगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत एक करोड ४३ लाख रुपैयाँ लागत अनुमान गरिएको लिफ्ट प्रबिधिको खानेपानी आयोजनाको काम भैरहेको छ । यस आयोजनामा उपभोक्ताको बिस प्रतिशत भन्दा बढी लगानी हुनुपर्ने सम्झौता भएको छ । त्यही अनुसार उपभोक्ताहरुले श्रमदान गरिरहनुभएको छ । गत वर्ष केन्द्रिय विद्युतीकरण योजनाका लागि पनि हामीले स्थानीयबाटनै धेरै लगानी जुटाएका थियो । यस वर्ष पनि विद्युतीकरणका लागि गाउँपालिकाले बिनियोजन गरेको बजेटले योजना सम्पन्न गर्न सम्भव छैन् । उपभोक्ताहरुले नगद तथा श्रमदान जुटाएर काम गर्दै हुनुहुन्छ ।
–बिममा सञ्चालीत योजनामा हेभी ईक्युभमेन्टको प्रयोग कसरी भएको छ ?

छिटो र कम लागतमा काम गर्न तथा यहाँको चट्टानी भुगोलमा बिशेष गरेर सडकको ट्याक खन्न र स्तारोन्नतीका लागि हेभी ईक्युभमेन्ट (डोजर)को प्रयोग गर्नुपर्ने आवश्यकता छ । बाईन्दफाँट मालीका, खारा बिम, डाँडागाउँ दिच्याम लगायत सडक योजनामा उपभोक्ता समितिले हेभी ईक्युभमेन्ट भाडामा लिएर काम गरेका छन् । हेभी ईक्युभमेन्ट भाडामा लिँदा कोटेशन मागेर प्रतिस्पर्धा गराउन उपभोक्ता समितिलाई हामीले सुझाएका छौं । ख्याल नगर्ने र समितिलाई वाच नगर्ने हो भने दुरुपयोगको खतरा हुन्छ भन्नेतर्फ हामीले सचेतना अपनाएका छौं । ट्याक खन्ने र अप्ठ्यारो ठाउँमा सुधार गर्ने काम करिब सकिएकाले आगामी वर्षदेखि हेभी ईक्युभमेनट भन्दा पनि मानवीय श्रमको प्रयोग गर्ने सोचेका छौं ।