ताजा समाचार:
Search

म्याग्दीमा हराउँदै यानीमाया

सन्तोष गौतम/विकल्प न्यूज
फागुन १० गते ।  Yanimaya (3)केटा “हा.हा.हा. बग्दै र आयो यानीमाया काली र म्याग्दी उदै सलल…….”
केटी “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झे मायालाई झलल….” ।

कुनै समय गाउँघरमा घन्कीने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुख, दुःख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो ।

यानीमायालाई म्याग्दी, पर्वत, बागलुङको मौलीक लोक भाकाको गीत मानिन्छ । यानीमायाको मौलीक ब्याकरणको बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिस्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताउनुभयो ।

दोहोरी शैलीमा केटा र केटीले गाउने यानीमायाको ब्याकरण अत्यन्तै महत्वपूर्ण, खतरा र रोचक भएको अध्यक्ष जिसीको भनाई छ । “यानीमायालाई नबुझेर धेरैले लतरे भाका भन्छन र चासो दिएका छैनन्” उहाँले भन्नुभयो “केटाले आधा गाएको टुक्काको भाव र अर्थ बुझी अनुप्रयास मिलाएर केटीले पूर्णता दिनु यानीमायाको प्रमुख बिशेषता हो ।”

राग र तालको भाव बुझेर टुक्कालाई पुर्णता दिनुपर्ने भएकाले यानीमाया गाउन कठिन मानिन्छ । अघिल्लो पुस्ता सम्म म्याग्दीमा मेला, महोत्सव, छेवार, किरीया, ब्रतबन्धको समयमा यानीमाया गाउने चलन थियो । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दुरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम यानीमायानै थियो । Yanimaya (2)आधुनिक सञ्चार माध्यमको विकास, पुराना पुस्ताका कलाकार दिवंगत हुने र नयाँ पुस्ताले नसिकेका कारण यानीमाया हराउँदै गएको म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापाले बताउनुभयो । उहाँका अनुसार बिशेष गरेर युवा युवतीहरु विभिन्न अवसरमा भेट हुँदा यानीमायाको भाकामा हालखबर, सन्चो बिसन्चो सोध्ने र दिनचर्याको ब्याख्या गर्ने गर्दथे ।

“लगातार दुई दिनसम्म यानीमाया गाएका थियौ” थापाले भन्नुभयो “अहिले गाउने मान्छे पनी छैनन्, भाका पनी हराउदै गएको छ ।”

केटा  “उर्ली आयो यानीमाया बर्खे भेल,
आम्दै आयो छाल हहहहह यानीमाया
दुख पिर बढ्दै आयो यानीमाया, आएन मेरो काल ।
केटी मेरो लागी किन आयो अहिलेको साल ?
साथी भाई त हाँस्छन खेल्छन यानीमाया

म बैरागी चाल” थापाले डम्मर पुर्जासंग गाउनुभएको यानीमायाको एउटा टुक्का सुनाउनुभयो । केटाले छोडेको टुक्काको भाव बुझेर केटीले लय मिलाई अन्त्य गरेपछि केटाहरु आहैहै भनेर लामो स्वर निकाली चिच्याउँछन् ।

यानीमाया गित गाउन एकएक जना केटा र केटी मुख्य कलाकार भएपनि उनिहरुलाई साथ दिने पाँच जना अरु सहयोगी हुन्छन् । प्रत्येक बाक्य सकिएपछि लामो स्वर निकालेर लयवद्ध रुपमा यानीमाया…….. भनिन्छ । पञ्चेबाजा र मादल यानीमाया गाउँदा प्रयोग हुने बाद्यबाधन हुन् ।

नेपाल मगर संघ म्याग्दीका सचिब लोकेश पुन मगरले मौलीक लोक भाका भएकाले यानीमायाको अध्ययन अनुसन्धान र संरक्षणमा अब स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । यानीमाया म्याग्दीको लोक सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण गरी पर्यटन विकासमा उपभोग गर्न सकिने सचिव पुनको धारणा छ ।

नयाँ पुस्ताका कलाकारलाई यानीमायाको बारेमा तालीम, प्रशिक्षण दिएर संरक्षणमा अग्रसर बनाउन सकेमा होमस्टेमा यानीमाया गाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने उहाँले बिचार छ । हालै बेनीमा भएको म्याग्दी महोत्सवमा नेपाल मगर संघको तर्फबाट यानीमाया गीत प्रस्तुत गरिएको थियो ।

यानीमाया गाउने कलाकार जुटाउदै गाहे भएको सचिव पुनले अनुभव सुनाउनुभयो । यानीमाया सबै समुदायमा गाइने भाका हो । धनकुमारी थापा, डम्मर पुर्जा, खड्ग गर्बुजा, मनकुमारी छन्त्याल लगायत अग्रज कलाकारले यानीमाया गीतको एल्बम समेत तयार पार्नुभएको छ । पुरानाबाट नयाँ पुस्ताका कलाकारमा यानीमाया गायन कलाको बारेमा सिप हस्तान्तरण गर्नका लागि नगरपालिका र गाउँपालिकाले प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ । नवविकल्प अंक २१ मा प्रकाशित