बेनपाले सडकको मापदण्ड र क्षेत्राधिकार तोक्यो

विकल्प न्यूज/बेनी
फागुन १० गते । Maharani-Dadakhet-Thulokhola Roadबेनी नगरपालिका क्षेत्रका सडकहरुको वर्गीकरण र क्षेत्राधिकार तोकिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नगरपालिकाले सडकलाई चार वर्गमा बिभाजन गरी दाँया र बाँयाको अधिकार क्षेत्र कायम गरेको हो । नगर कार्यपालीकाको बैठकले नगर क्षेत्र भित्रका सडकको वर्गीकरण र मापदण्ड कायम गरेको नगरपालीकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो । बेनी नगरपालीकामा पर्ने सडकलाई चार वटा समूहमा बर्गीकरण गरेको छ ।

राष्ट्रिय तथा प्रदेश स्तरीय वर्गमा राखिएको बेनी–रत्नेचौर–बागलुङ र मालढुङ्गा–बेनी–जोमसोम सडकको क्षेत्राधिकार तिस मिटर र छ मिटर सेटब्याक हुने निर्णय भएको छ । नगरपालीकाको (ए) वर्गमा सुचिकृत बेनी सिङ्गा हुदै मंगाल गाउँपालिका जोड्ने सडकको सेटब्याक सहितको क्षेत्राधिकार बिस मिटर तोकीएको छ ।

(बि) वर्गमा राखिएको नगरको र गाउँपालिकाको वडा तथा नगर क्षेत्रका ठूला बस्ती जोड्ने सडक १२ मिटर फराकीलो हुने र दायाँ बाँया घर, भवन लगायत पूर्वाधार बनाउन दुईदुई मिटर खाली छोड्नुपर्ने ईञ्जिनियर कार्कीले बताउनुभयो ।

बि वर्गमा बेनी पुलाचौर डडुवा, बेनी पात्लेखेत, महारानी छाप ठूलोखोला, गलेश्वर पात्लेखेत, बेनी थामडाँडा, दूधेखोला भकिम्ली, बेनी भकुण्डे गौस्वारा, नेप्टेचौर गिठीनी पात्लेखेत, बगरफाँट बाँगेरा भकुण्डे, आनन्दबगर हुदै ढोडेनीखोला र नगर चक्रपथको रुपमा परिकल्पना गरिएको रत्नेचौर अर्जम ज्यामरुककोट भकिम्ली सिंगा पुलाचौर तोरीपानी गलेश्वर सडकलाई राखिएको छ ।

ए र बि वर्गका सडक र नगरपालिकाको वडा कार्यालयसंग ग्रामिण बस्ती जोड्ने ३३ वटा सडकलाई (सि) श्रेणीमा वर्गीकरण गरिएको छ । सि वर्गको सडकको चौडाई दश मिटर र सेटब्याक दुई मिटर रहेको छ ।

डि श्रेणीमा वर्गीकरण भएका नगरपालिकाको हालको बजारभित्रका र बस्ति विकास भई शहरीकरण हुन सक्ने क्षेत्रका सडकहरुमा बस्ति विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभुत मापदण्ड २०७२ लागु गरिने भएको छ ।

यी सडकहरु पनी छ मिटर फराकीलो र दायाँवायाँ दुईदुई मिटर सेटब्याक राख्नुपर्ने मापदण्ड तोकीएको छ । नगर कार्यपालीकाको बैठकले पारित गरेको मापदण्ड अनुसार सडक छेउछाउमा नक्सा पास गर्दा नयाँ नियम लागु गरिने ईञ्जिनियर कार्कीले बताउनुभयो । भौतिक पूर्वाधार र सडकलाई व्यवस्थित गर्नका लागि सडकको बर्गीकरण र क्षेत्राधिकार तोकीएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।