डडुवामा ‘लिफ्ट’ खानेपानी

सन्तोष गौतम /विकल्प न्यूज
फागुन ९ गते ।Lift Khanipani (2)बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दङग पर्नुभएको छ । “डेढ, दुई घण्टा लगाएर गाग्री, ग्यालीन, ड्रम, बोत्तलमा पानी ओसार्नुपर्ने बर्षौदेखिका दुखका दिन गए” ६० वर्षिया परियारले भन्नुभयो “अहिले आगनको धारामा नियमित पानी आउन थालेपछि सुबिधा भयो ।”

घरमा उपभोग गर्ने, गाईबस्तुलाई खुवाउने पानी ल्याउन, नुहाउन, कपडा धुनका लागि कुवा, खोल्सा र पधेरामा पुगेर घण्टौ पालो पर्खीएर पानी ओसार्ने गर्दै आउनुभएकी डडुवाकी टिका शाहीको दैनिकी फेरिएको छ ।

“बिहान उठेदेखि नसुत्दासम्म पानीको जोहो गर्दा गर्दै दिन बित्यो” शाहीले भन्नुभयो “घरमै पानी आउन थालेपछि समयको बचत र सुबिधा भएको छ ।” परियार र शाही मात्र नभएर ९३ घरधुरीको बसोबास रहेको डडुवा गाउँका बासिन्दाको दैनिक लिफ्ट प्रबिधिको खानेपानी आयोजना सञ्चालन भएपछि परिवर्तन भएको छ ।

पुलाचौर डडुवा लिफ्टीङ खानेपानी तथा सरसफाई आयोजना मार्फत फेदीको पानी डाँडामा पु¥याएर घरघरमा वितरण गरिएपछि स्थानीयबासी दंग परेका छन् । डडुवाका बासिन्दाले मंगला गाउँपालिका १ पूर्णगाउँको गाजाबाङ भन्ने ठाउँबाट पानी ल्याएर उपभोग गर्दै आएका थिए ।

वि.स २०४३ मा निर्माण भएको उक्त आयोजना जिर्ण हुँदा पर्याप्त खानेपानी आपुर्ती हुन नसक्दा हिउँदको समयमा कुवा, खोल्सा र धाराको पानी उपभोग गर्नुपर्ने बाध्यता थियो । गाउँभन्दा माथि पानीको स्रोत नभएकाले लिफ्ट प्रबिधिको आयोजना निर्माण गरिएको उपभोक्ता समितिका सचिव डम्मरबहादुर बानियाँले जानकारी दिनुभयो ।

“धेरैलाई फेदीको पानी तानेर गाउँमा पु¥याउने योजनामा विश्वास लागेको थिएन् तर प्रबिधिको विकासले गर्दा नसोचेको सफलता पायांै” बानियाँले भन्नुभयो । सौर्य उर्जाको प्रयोग गरेर डडुवा गाउँको फेदीमा रहेको पैरापानीको मुहानको पानी ३५० मिटर माथि भेडाखोर भन्ने ठाउँमा निर्माण गरिएको रिजर्भ टंकीमा पु¥याएर पाईपलाईन मार्फत घरघरमा वितरण गरिएको छ ।
९३ घर, एक विद्यालय र एक वटा मन्दिरमा निजी धारा मार्फत खानेपानी वितरण गरिएको सचिव बानियाँले बताउनुभयो । उहाका अनुसार पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना, जिल्ला समन्वय समिति, बेनी नगरपालिका र उपभोक्ताको एक करोड ३३ लाख रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो ।

२६० वटा क्षमताको १२० वटा सोलार प्यानल मार्फत पाच हजार वाट क्षमताको ४ वटा पम्प सञ्चालन गरेर प्रति पाच सेकेण्डमा ११ लिटरका दरले पानी आपुर्ती गराइएको छ । ईन्टेकबाट बिस हजार लिटर क्षमताको रिजर्भ टंकीमा संकलन गरिएको पानी १७५ मिटर माथि रहेको दश हजार लिटर क्षमताको अर्को टंकीमा पु¥याई त्यहाँबाट पुन पम्पीङ गरेर थप १७५ मिटर माथि भेडाखोरमा रहेको बिस हजार लिटर क्षमत्ताको टंकीमा पु¥याइएको छ ।
वि.स २०६९ मा सर्वेक्षण भई २०७२ देखि आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणका लागि ९३ घरधुरी उपभोक्ताले ५० दिन भन्दा बढीका दरले श्रमदान गरेका स्थानीयबासी कृष्ण खत्रीले बताउनुभयो । नगरपालिकामा समावेश भएपनि डडुवा गाउँमा भौगोलिक रुपमा बिकट छ ।

आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि सबै उपभोक्ताको धारामा मिटर जडान गरि मासिक शूल्क संकलन गर्ने उपभोक्ता समितिका अध्यक्ष मोहन भण्डारीले बताउनुभयो । डडुवामा लिफ्ट प्रबिधिको खानेपानी आयोजना सफल भएपछि मालीका गाउँपालिका ७ बिममा यस्तै प्रबिधिको अर्को आयोजना निर्माणको तयारी भएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।