परिवार नियोजन सुदृढीकरण कार्यक्रम म्याग्दीका सबै स्वास्थ्य संस्थामा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ७ फागुन । IMG_4418म्याग्दीका सबै स्वास्थ्य संस्थामा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम विस्तार गरिने भएको छ । परिवार नियोजनको अस्थाई र स्थाई साधनको प्रयोगको दर वृद्धी गरी अनईच्छुक गर्भधारण कम गरी गर्भपतन गर्नुपर्ने अवस्था आउन नदिनका लागि कार्यक्रम विस्तार गर्न लागिएको हो । युएसआईडीको आर्थिक सहयोग र जिल्ला स्वास्थ्य कार्यालयसंगको समन्वयमा सन २०१७ देखि सञ्चालीत कार्यक्रम हाल म्याग्दीका ३० वटा स्वास्थ्य संस्थामा लागु भएको छ ।

यो वर्ष ४१ वटै स्वास्थ्य संस्थामा कार्यक्रम लागु गरिने कार्यक्रमका जिल्ला संयोजक मिलन सिग्देलले सोमबार बेनीमा आयोजित कार्यक्रममा जानकारी दिनुभयो । कार्यक्रम मार्फत स्वास्थ्य कर्मीहरुलाई परिवार नियोजन सम्बन्धि तालीम प्रदान गरेर क्षमत्ता वृद्धी, परिवार नियोजनका लागि आवश्यक उपकरण सहयोग, परिवार नियोजन शिवीर सञ्चालन, परामर्श र जनचेतनामुलक गतिबिधि गरिने उहाँले बताउनुभयो ।

सो कार्यक्रमका लागि यस वर्ष चालीस लाख बजेट प्राप्त भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रम मार्फत गत वर्ष ३४४ जनाले आईयुसिडी र ईम्पलान्ट सेवा लिएका छन् । यसैगरी परिवार नियोजन शिवीरमा २५ वटा मिनील्याप, ५८ जनाले भ्यासेक्टोमी र २ जनाले ईम्पलान्ट सेवा लिएका थिए ।

३४ जना स्वास्थ्यकर्मीलाई क्षमता विकास तालीम र ३० वटा स्वास्थ्य संस्थालाई परिवार नियोजन सेवाका लागि आवश्यक उपकरण उपलब्ध गराएको सिग्देलले बताउनुभयो । म्याग्दीका ३९ प्रतिशत दम्पत्तीले मात्र परिवार नियोजनको अस्थाई र स्थाई प्रकृतीका साधनको प्रयोग गरेको तथ्याङ्क छ ।

जिल्ला अस्पतालका डाक्टर बिराट शर्माले अनिच्छुक गर्भधारणबाट बच्न, जन्मान्तर कायम गर्न र गर्भपतन गर्नुपर्ने अवस्था आउन नदिन परिवार नियोजनका साधनको प्रयोग बढाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका सञ्चार अधिकृत राधाकृष्ण डुम्रेले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले परिवार नियोजनका साधनप्रती रहेको गलत धारणा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।