ताजा समाचार:
Search

घारखोला जलविद्युत आयोजना शिलन्यास नहुँदै विवादमा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ फागुन । Gharkhola Hydroम्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाईड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको आईतबार शिलन्यास गरिएको छ । अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ नम्बर वडा घारको सिमाना कुरीलाखर्कमा रहने बाँध तर्फबाट खन्न सुरु भएको सुरुङमा बिस्फोट गराएर आयोजनाका प्रमुख भरत नेपालले शिलन्यास गर्नुभएको हो ।

दुई अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको विद्युतगृह घारको पोखरेबगर गोजेमा रहने प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताउनुभयो । तिन किलोमिटर ४८ मिटर लामो सुरुङसंगै बाँध निर्माणको काम सुरु भएको हो ।

वि.स २०७६ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले घारको बिरौटा देखि कुरीलाखर्कसम्म पहुँचमार्ग निर्माण गरीसकेको छ । यसैबीच आयोजना शिलन्यास भएकै दिन अन्नपूर्ण गाउँपालीकाको ६ नम्बर वडाको बैठकले आयोजनाले वातावरण संरक्षण, सामाजिक विकास र स्थानीयको लगानीको विषयमा स्पष्ट प्रस्ताव नल्याएसम्म काम अघि बढ्न नदिने निर्णय गरेको छ ।

घारखोला जलविद्युत आयोजना सहयोग तथा सरोकार समन्वय समितिका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले आयोजनाले स्थानीय स्तरमा समन्वय, वातावरण संरक्षण र सामाजिक विकासको काममा बेवास्ता गरेको बताउनुभयो ।

सामाजिक विकासमा गर्नुपर्ने कुल लगानीको ०.५ प्रतिशत रकम कसरी परिचालन गर्ने, बाँधसम्म जाने सडक निर्माणका क्रममा गएको पहिरो रोकथाम, अधिग्रहण हुने जग्गाको मुआब्जा वितरण र स्थानीयको लगानीको विषयमा बेवास्ता गरेकाले सहमति नहुँदासम्म काम अघि बढाउन नदिने निर्णय भएको वडा अध्यक्ष बरुवालले बताउनुभयो ।