बाबियाचौरको फोहोर पानाबगरमा व्यवस्थापन

सन्तोष गौतम/विकल्प न्यूज
बाबियाचौर ५ फागुन । Babiachour Fohor (2)मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको फोहोर पानाबगरमा व्यवस्थापन गर्न सुरु भएको छ । गाउँपालिका, वडा कार्यालय र टोल सुधार समितिको पहलमा बजारमा फोहोर संकलन गरी पानाबगरमा व्यवस्थापन गर्न थालीएको हो । ३५० घरधुरीको बसोबास रहेको मंगला गाउँपालीका २ मा पर्ने बाबियाचौर बजारका बासिन्दाले यसअघि म्याग्दी नदी र बस्ती नजिकैको सार्वजनीक स्थलमा फोहोर फाल्ने गरेका थिए ।

बजारलाई सरसफाईयुक्त बनाउन ट्याक्टरमा फोहोर संकलन गरेर लाम्पाटा देखि केही तल रहेको लामा बगर स्थित सार्वजनीक ठाउँमा खनिएको खाडलमा व्यवस्थापन गर्न थालीएको वडा अध्यक्ष धनबहादुर खातीले बताउनुभयो । हाल हप्तामा एक पटक शनिबारका दिन ट्याक्टर भाडामा लिएर बजारका घरहरुबाट फोहोर उठाएर खाडलमा लगेर पाल्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

फोहोर व्यवस्थापनका लागि लम्बाई र चौडाई छछ मिटर तथा पाँच मिटर गहिराई भएको खाडल खनिएको छ । कुहिने, नकुहिने र सिसाजन्य फोहोरलाई छुट्टा छुट्टै ठाउँमा व्यवस्थापन गरीएको वडा सदस्य राजु पाण्डेले बताउनुभयो ।

नियमित र व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्न गाउँपालीकाबाट ट्याक्टर खरिद, कर्मचारी व्यवस्था र शूल्क उठाउने तयारी गरिएको छ । फोहोर व्यवस्थापन गर्न थालीएपछि बजारको सरसफाईमा सहयोग पुगेको स्थानीय युवा राजकुमार पाण्डेले बताउनुभयो ।