ताजा समाचार:
Search

के.डी वर्ष पत्रकारिता पुरस्कार खड्कालाई

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ फागुन ।  DSC_0246म्याग्दीका पत्रकार घनश्याम खड्का के.डी वर्ष पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनुभएको छ ।  मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेजले शनिबार दोस्रो वार्षिक उत्सवको अवसरमा कृषि र पर्यटन क्षेत्रमा समाचार लेखेवापत कान्तिपुर दैनिकका सम्बाददाता खड्कालाई ११ हजार १११ रुपैयाँ पुरस्कार राशीको पुरस्कार प्रदान गरेको हो ।

सोही अवसरमा रासस र एबिसी टिभीका कमल खत्री तथा रुप्से दैनिकका प्रताप बानियाँलाई पनि प्रशंसापत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो । मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, कटेजका सञ्चालक अशोक शर्मा, वडा अध्यक्ष धनबहादुर खातीले पुरस्कार र सम्मान प्रदान गर्नुभएको थियो । DSC_0264कृषिमा आधारीत पर्यटन र होटल व्यवसाय गर्ने उद्देश्यले दुई वर्षअघि स्थापीत उक्त कटेजका सञ्चालक शर्माले प्रत्येक वार्षिक उत्सवको अवसरमा एक जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गर्नुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको सिफारिसमा पुरस्कार र सम्मान प्रदान गरिएको हो ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष केसी र वडा अध्यक्ष खातीले समृद्धिका लागि गाउँपालिकाले कृषिको व्यवसायीकरण र पर्यटन विकासमा जोड दिएको बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा र पुरस्कृत पत्रकार खड्काले गाउँमै बसेर स्वरोजगार बन्ने प्रयास गरेका केडी कटेजका सञ्चालकले पत्रकारिता क्षेत्रको प्रोत्साहनका लागि गरेको कार्यको प्रशंसा गर्नुभयो ।

सञ्चालक शर्माको अध्यक्षता, व्यवस्थापक जिवन पौडेलको स्वागत र कृष्णबहादुर खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य गणेश बानिया र मंगला गाउँपालिकाको कृषि शाखाका प्रमुख दिर्घबहादुर खड्काले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्राकृतिक तातोपानी कुण्ड, टोड्के, गुरील्ला, धौलागिरी चक्रिय पदमार्ग र ढोरपाटन भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ५० लाख रुपैयाको लागतमा कटेज सञ्चालन गरिएको थियो ।

उक्त कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रबिधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको परिकारको बिक्रीका साथै होमस्टे सुबिधा रहेको छ ।

हाल दश जना क्षमताको होमस्टे सञ्चालनमा रहेको कटेजले छिट्टै थप एक करोड पचास लाखको लागतमा स्वीमीङ पुल, सभाहल र सुबिधायुक्त कोठा सहितको रिसोर्ट सञ्चालनको तयारी गरेको सञ्चालक पौडेलले बताउनुभयो ।

स्थानीय कृषि उपजको खपत, बजारीकरण, रोजगारी सिर्जना र ग्रामिण पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कटेज सञ्चालन गरिएको हो । केडी ग्रुप अन्तरगत केडी ईन्टरटेन्टमेन्ट र केडी फाउण्डेशन समेत रहेका छन् ।