ताजा समाचार:
Search

तलबको माग गर्दै ज्ञापनपत्र

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ फागुन ।IMG_6052(1)तलब उपलब्ध गराउन माग गर्दै शिक्षकका पेशागत संगठनहरुले बुधबार म्याग्दीका तिन वटा स्थानीय तह र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुलाई दोस्रो चौमासीकको तलब वितरण गर्न नसकेका बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शिक्षक संगठनले ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरुको टोलीले तिन वटै स्थानीय तहका प्रमुख र शिक्षा अधिकारी रामकुमार श्रेष्ठलाई कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाउनुभएको थियो ।

समयमै शिक्षकहरुलाई तलब भत्ता उपलब्ध गराउन र शैक्षिक सुधारका लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक संघ म्याग्दीका सभापती दुर्गाराम सुवेदीले बताउनुभयो ।

स्थानीय तहका जनप्रतिनिधिको बेवास्ता, कर्मचारीको ढिलासुस्ती, शिक्षा मन्त्रालयको लापरबाही र शिक्षा कार्यालयको समन्वयको कमीका कारण गत मंसिरमै पाउनुपर्ने दोस्रो चौमासीकको तलब दुई महिना ढिलाई हुँदा समेत नपाएको शिक्षकहरुले बताएका छन् ।

राज्य पुनसंरचनासंगै शिक्षा मन्त्रालयले शिक्षकको तलबभत्ता, मसलन्द, छात्रावृत्ती, पाठ्यपुस्तक खरिदको बजेट सहित २३ वटा अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेको छ । स्थानीय तहले तलबभत्ता निकासा गर्न ढिलाई गर्दा शिक्षकहरु समस्यामा परेको नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका शिक्षकले पहिलो चौमासीकको समेत पुरा तलब पाएका छैनन् । बेनी नगरपालीकामा ५५४, रघुगंगामा २७८ र अन्नपूर्ण गाउँपालिकामा ३०२ गरी तिन वटा स्थानीय तहमा एक हजार १३४ जना शिक्षक कर्मचारी समयमै तलब पाउनबाट बञ्चित भएका हुन् ।

स्थानीय तहको बेवास्ताका कारण हालसम्म मसलन्द खर्चका साथै आगामी आर्थिक वर्षको पाठ्यपुस्तक खरिद र छात्रवृत्ती वितरणका लागि अझै बजेट निकासा नभएको शिक्षकहरुले बताएका छन् ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले शिक्षा सम्बन्धि जनशक्तिको अभाव र पर्याप्त बजेट नभएकाले समस्या परेको बताउनुभयो । भएको तलब उपलब्ध गराउन पहल र अपुग बजेट माग गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।