विकास निर्माणमा उद्दाहरणीय कार्य ः लक्ष्य अघिनै भवन निर्माण

विकल्प न्यूज/बेनी
फागुन २ गते । Bhagabati Helth Post buildingरघुगंगा गाउँपालीका २ भगवतीमा निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन । तस्विर धिरन खत्री

समयमै पुरा नहुने, अलपत्र पर्ने र गुणस्तरीय काम नहुने म्याग्दीको विकास निर्माणको प्रमुख चुनौती हो । म्याग्दीमा सञ्चालीत सडक, भवन, सिँचाई, खानेपानी, जलविद्युत, नदी नियन्त्रण सम्बन्धि दर्जनौ ठूला आयोजना ढिलासुस्तीले थला परेका छन् ।

उपभोक्ता समिति र निर्माण व्यवसायी समिति मार्फत सञ्चालीत आयोजनामा बिभिन्न बाहनामा ढिलासुस्ती भैरहेको अवस्थामा रघुगंगा गाउँपालिका २ भगवतीमा भने लक्ष्य अघिनै स्वास्थ्य चौकीको भवन निर्माण भएको हो ।

१८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भवन तिन महिना अघि पन्ध्र महिनामै पुरा भएको छ । त्यसमा पनि निर्माण व्यवसायी मार्फत । व्यवसायीको ईच्छाशक्ती, सक्रियता, सरकारी निकायको समन्वय तथा निगरानी र समुदायको सहयोग भएमा पूर्वाधार योजनामा ढिलासुस्ती हटाउन सकिने उदाहरण भगवती स्वास्थ्य चौकीको भवन योजनाले प्रवाह गरेको छ ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङ मार्फत २०७३ कात्तिक २३ गते ठेक्का सम्झौता भएको भवनको पूर्वाधार निर्माणको काम २०७४ बैशाख देखि सुरु भएको थियो । एक करोड ३८ लाख २० हजार ८४३ रुपैयामा नानाहरि जेभीले ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि कृष्णकुमार शेरचनले भवनको सबै संरचना तयार पारेर रंगरोगन गर्ने, झ्याल ढोका हाल्ने, घेराबार गर्ने लगायत ९८ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । फागुनको पहिलो हप्ताभित्र डिभिजन मार्फत भवन हस्तान्तरण गर्ने तयारी गरेको शेरचनले बताउनुभयो ।

भुकम्प प्रतिरोधी क्षमताको अपाङ्ग मैत्री उक्त भवनको भुई तलामा ७ र पहिलो तलामा दुई वटा कोठा छन् । भुई तलामा बिरामीको उपचार, औषधी भण्डारण, प्रशासनीक, ल्याब लगायतका छुट्टा छुट्टै कक्ष छन् । पहिलो तलाको दुई कोठा स्वास्थ्यकर्मीको आवासका लागि बनाइएको हो ।

छड, सिमेन्ट लगायत निर्माण सामाग्रीको मूल्य वृद्धीका बावजुद पनि निरन्तर मजदुर परिचालन गरेको र समुदायले पनी सहयोग गरेकाले लक्ष्य अघिनै भवन बनाउन सफल भएको शेरचनले बताउनुभयो ।

भवन निर्माणका लागि रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र स्थानीय लोकबहादुर भण्डारीले सात वर्षअघि चार रोपनी भन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराउनुभएको थियो । भवबहादुर भण्डारीले साढे छ लाखमा तिन रोपनी र लोकबहादुर भण्डारीले एक लाख रुपैया भन्दा बढीमा एक रोपनी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराउनुभएको स्वास्थ्य चौकीका प्रमुख टिकाबहादुर शाहीले बताउनुभयो ।
हाल वडा कार्यालयको स्वामीत्वमा रहेको जिर्ण अवस्थाको भवनको दुई वटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको छ । हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिने वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो । वडा अध्यक्ष कटुवालले लक्ष्य अघिनै भवन बनाएर विभिन्न बाहनामा विकासको काममा ढिलासुस्ती गर्नेलाई नैतिक दवाव सिर्जना भएको बताउनुभयो ।

नयाँ भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाह सहज उहाँले अपेक्षा गरिएको छ । सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेग गाविसका बासिन्दाले सेवा लिदै आएका छन् । सेवाग्राहीको संख्या दैनिक बिस जनाको अनुपातमा रहेको छ । समयमै र गुणस्तरीय काम गर्ने व्यवसायी तथा उपभोक्ता समितिलाई सम्मान र प्रोत्साहनको आवश्यकता छ ।