ताजा समाचार:
Search

तलब नपाएपछि शिक्षकहरुद्धारा आन्दोलनको घोषणा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ फागुन ।28034520_1831785460179015_299537174_o म्याग्दीको तिन वटा स्थानीय तहका शिक्षकहरुले चालु आर्थिक वर्षको दोस्रो चौमासीकको तलब अझै पाउन सकेका छैनन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामामा रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुले गत मंसिरमै पाउनुपर्ने तलब अझै नपाएका हुन् ।

स्थानीय तहका जनप्रतिनिधिको बेवास्ता, कर्मचारीको ढिलासुस्ती, शिक्षा मन्त्रालयको लापरबाही र शिक्षा कार्यालयको समन्वयको कमीका कारण समयमै तलमभत्ता पाउन नसकेको भन्दै शिक्षकहरुले आन्दोलनको घोषणा गरेका छन् ।

राज्य पुनसंरचनासंगै शिक्षा मन्त्रालयले शिक्षकको तलबभत्ता, मसलन्द, छात्रावृत्ती, पाठ्यपुस्तक खरिदको बजेट सहित २३ वटा अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेको छ । स्थानीय तहले तलबभत्ता निकासा गर्न ढिलाई गर्दा शिक्षकहरु समस्यामा परेको नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका शिक्षकले पहिलो चौमासीकको समेत पुरा तलब पाएका छैनन् । म्याग्दीका अन्य स्थानीय तहका शिक्षक कर्मचारीले समयमै तलबभत्ता पाएपनि बेनपा, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाले दुई महिना ढिलाई हुँदा समेत तलब उपलब्ध गराउन नसकेकाले आन्दोलन गर्ने निर्णय भएको सुवेदीले जानकारी दिनुभयो ।

उहाँले शिक्षकहरुको सरुवा र नियुक्तीमा चासो दिने जनप्रतिनिधिहरुले समयमै तलब खुवाउन नसकेर लाचारी प्रस्तुत गरेका आरोप लगाउनुभयो । बेनी नगरपालीकामा ५५४, रघुगंगामा २७८ र अन्नपूर्ण गाउँपालीकामा ३०२ गरी तिन वटा स्थानीय तहमा एक हजार १३४ जना शिक्षक कर्मचारी समयमै तलब पाउनबाट बञ्चित भएका हुन् ।

स्थानीय तहको बेवास्ताका कारण हालसम्म मसलन्द खर्चका साथै आगामी आर्थिक वर्षको पाठ्यपुस्तक खरिद र छात्रवृत्ती वितरणका लागि अझै बजेट निकासा नभएको शिक्षकहरुले बताएका छन् ।

स्थानीय तहले माघ मसान्तसम्म तलब उपलब्ध गराउने आश्वासन पुरा नगरेपछि फागुन २ गतेदेखि तलब निकासा नभएका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउन र एक हप्ताभित्र सबै विद्यालयमा निकासा नभए अन्य संगठनहरुसंग सहकार्य गरी स्थानीय तह र शिक्षा कार्यालयमा तालाबन्दि गरेर आन्दोलनमा उत्रने संगठनले चेतावनी दिएको छ ।

रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईले शिक्षा मन्त्रालयले आवश्यकता अनुसार पर्याप्त बजेट नपठाएको, शिक्षा शाखा हेर्ने कर्मचारी नभएको र एक जना मात्र लेखापालले धेरै काम गर्न नभ्याएकाले शिक्षकको तलब भुक्तानीमा ढिलाई भएको बताउनुभयो ।

अपुग बजेट व्यवस्थापनका लागि मन्त्रालयमा पहल गरिने र केही दिनमै बजेट निकाशा गर्ने तयारी भएको उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले शिक्षा मन्त्रालयले शिक्षकको तलबभत्ताका लागि आवश्यक पर्ने भन्दा तिस प्रतिशत कम बजेट पठाएकाले थप बजेटका लागि मन्त्रालयसंग पहल गरेको बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले शिक्षा शाखा हेर्ने कर्मचारी नहुँदा समस्या भएको बताएका छन् ।