उपल्लो मुस्ताङ र म्याग्दीको उच्च पहाडी बस्तीमा हिमपात

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २९ माघ ।

?

सोमबार बिहानदेखि मौसममा भएको बदलीका कारण उपल्लो मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । मौसम बदली र हिउँ परेपछि चिसो बढेको महशुस भएको छ ।

जल तथा मौसम विज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले सोमबार राती नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा साधारण बदली भई पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ । मंगलबार पनी मौसम बदली हुने महाशाखाले जनाएको छ ।
मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ र कोरला क्षेत्रमा आईतबार राती देखि हिउँ पर्न थालेको थियो । सोमबार साँझसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना लोमान्थाङका प्रमुख तुलसी दाहालले जानकारी दिनुभयो ।

लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । उप्पलो मुस्ताङका सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् ।

हिमपातसँगै हुरीबतास पनि चलेको लोमानथाङ प्रहरी चौकीका प्रहरी जवान राजकुमार श्रेष्ठले बताउनुभयो । एक फिट बाक्लो हिउँ जमेको छ । हिमपातपछि थोरङपास, मुक्तिनाथ, लोमानथाङ, छोसेर, छोनुप, फुवा, नेच्युङ भन्सालगायत ठाउँमा यातयात अवरुद्ध भएको छ । चिसोका कारण नेच्युङ भन्सारमा हाल प्रहरी र कर्मचारी बस्दैनन् ।

हिउँ परेपछि मुस्ताङमा स्याउखेती फष्टाउने, जौ, गहुँ, उवा, फापरलगायत बालीमा सिँचाइ हुने भएकाले कृषक खुशी भएका हुन् । उप्पलो मुस्ताङ र मुक्तिनाथमा पर्यटक हिउँ खेल्न पाउँदा दंग छन् । यसैगरी म्याग्दीको धौलागिरी गाउँपालीका १ गुर्जा र अन्नपूर्ण गाउँपालीका ६ घोडेपानीमा पनी सामान्य हिमपात भएको छ ।

छिटपुट हिउँ परेकाले चिसो बढेको महशुस गरिएपनी खेतीबालीका लागि पुग्नेगरी पर्याप्त बर्षा हुन नसकेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । गत असोजदेखिको खडेरीका कारण म्याग्दी लगायत पहाडी जिल्लामा हिउँदे बाली प्रभावीत भएको छ । बर्खेबाली लगाउन समेत कृषकलाई समस्या परेको छ ।