बेनीका व्यवसायीहरुद्धारा विद्युत प्रशारणलाई नियमित गराउन माग

विकल्प न्यूज/बेनी
माघ २९ गते ।

????????????????????????????????????

म्याग्दीमा हुने गरेको अनियमित विद्युत कटौतीलाई रोक्न माग गर्दै म्याग्दी उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रको ध्यानकर्षण गराएको छ ।
संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यको नेतृत्वमा सोमबार गएको संघका पदाधिकारीहरुको दबाब टोलीले जिल्लामा दैनिकजसो हुने गरेको अघोषित लोडसेडिङ्गलाई हटाउन माग गर्दै विद्युत प्राधिकरणको ध्यानकर्षण गराएका थिए ।
पछिल्लो दुई दिन म्याग्दीमा विना सुचना दिनभर विद्युत कटौती गरिएको थियो । हिउँदयाममा यहाँ विहान, दिउँसो र साँझ अघोषित रुपमा लोडसेडिङ्ग हुने समस्या विद्यमान रहेको छ ।
बेनी वितरण केन्द्रका सहायक ईन्जिनियर कृष्णप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएँदै संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले विना जानकारी हुने विद्युत कटौतीले उद्योगी व्यवसायी एवम् सर्वसाधारण नागरिक मर्कामा परेको बताउनुभयो ।
उहाँले अनियमित लोडसेडिङ्गले फर्निचर, मासु , ग्रिल उद्योग संगै विद्युतीय उपकरणद्धारा सञ्चालित उद्योग व्यवसाय बढी प्रभावित हुने गरेको बताउनुभयो ।
ज्ञापन पत्रमा नेपाल विद्युत प्राधिकरणले देशैभरी लोडसेडिङ्ग हटेको उद्घोष गरेपनि जिल्लामा अघोषित रुपमा लोडसेडिङ्ग हुने गरेको भन्दै सम्बद्ध निकायको ध्यानकर्षण गराईएको छ ।
‘‘विना सुचना दैनिक रुपमा सयौँ पटक विद्युत गैरहने समस्याले उद्योगी व्यवसायी आक्रान्त बनेका छौँ, पर्वत र बागलुङमा विद्युतमा हुने समस्यामा पनि म्याग्दी संधै मारमा पर्नुपर्ने बाध्यता छ,’’– संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले भन्नुभयो ।
उहाँले विगत ३÷४ बर्षदेखि संघले निरन्तर रुपमा जिल्लामा देखिएको विद्युत समस्या समाधानको लागि पहल गरेपनि उचित सम्बोधन हुन नसकेको गुनासो गर्नुभयो ।
जिल्लाको विद्युत समस्या समाधानमा यथाशिघ्र ठोस कार्य नभएमा संघले उद्योगी व्यवासयी लगायत आम नागरिक समाजको तर्फबाट प्राधिकरणको कार्यालयमा धर्ना र तालाबन्दी लगायतका दबाबमुलक कार्यक्रम गर्ने संघका बरिष्ट उपाध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । सो क्रममा संघका महासचिब लिलाराम गौतम र सदस्य भोजबहादुर रिजालले विद्युत नियमित नहुने समस्याले बैंक तथा विक्ति संस्था, छापाखाना, विद्युतीय सञ्चार माध्ययमहरु समेत समस्यामा परेको भन्दै तत्कालै समस्या सम्बोधनको लागि पहल गर्न आग्रह गर्नुभयो ।
बक्ति जाने समस्यालाई निराकरणको लागि पर्वतमा ३३ केभिलाई ट्रान्समिसन लाईन र ११ केभिलाई वितरण केन्द्रको रुपमा मात्रै प्रयोग गर्ने गरि काम भैरहेकाले पछिल्ला केहि दिन म्याग्दीमा अनियमित रुपमा लामो समय विद्युत कतौटी भएको केन्द्रले जनाएको छ ।
बेनी वितरण केन्द्रका सहायक ईन्जिनियर शर्माले पर्वत र बागलुङ्गमा विद्युत मर्मतको क्रममा म्याग्दीमा समेत हुने विद्युत कतौटीले समस्या निम्त्याएको बताउँदै सेवाग्राहीलाई अग्रीम जानकारी दिनको लागि आबश्यक पहल गरीएको बताउनुभयो ।
बागलुङ र पर्वतमा ३३ केभि प्रभावित क्षेत्रमा काम गर्दा सुरक्षाको लागि म्याग्दीको विद्युत कतौटी हुने गरेको बताउँदै शर्माले जिल्लामा अहिले साँझ आधा घण्टा हुने विद्युत कतौटीलाई बेनी, दाना र रत्नेचौर फिडरमा लोडको भार हेरेर व्यवस्थापन गरिँदै आईएको बताउनुभयो ।