पुलाचौरमा साझा सुबिधा केन्द्रको भवन उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज
पुलाचौर २८ माघ । IMG_5774बेनी नगरपालिका ५ पुलाचौरका महिलाहरुले सिकेको सीपलाई निरन्तरता दिदै सामुहिक व्यवसाय गर्नका लागि साझा सुबिधा केन्द्रको भवन बनाएका छन् ।
पुलाचौर स्विटर उत्पादक संघमा आवद्ध महिला उद्यमीहरुले निर्माण गरेको तिन कोठे भवनको आईतबार प्रदेशसभा सदस्य बिनोद केसी र गरिवी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले उद्घाटन गर्नुभयो ।

प्रदेश सांसद केसीले आर्थिक, सामाजिक परिवर्तनका लागि महिलाको अग्रसरता आवश्यक पर्ने बताउदै आत्म निर्भर बन्नका लागि पुलाचौरका महिलाहरुले गरेको प्रयासलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

अब बन्ने प्रदेश सरकारले पूर्वाधार विकाससंगै स्थानीय स्रोत साधन र सिपको परिचालन गरेर आयआर्जन वृद्धी र रोजगारी सिर्जना गर्ने निती तथा कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।

बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले सामाजिक परिवर्तनका लागि महिलाको आर्थिक स्रोतमा पहुँच बढाउन उद्यमशिलताको विकासमा प्राथमिकता दिएको बताउनुभयो । कोषका कार्यकारी निर्देशक केसीले हस्तकलाका बस्तुको उत्पादन, गुणस्तर र प्रतिस्पर्धी बनाई बिदेश निकासीका लागि पहल गरिएको बताउनुभयो ।

तिन कोठे भवन बनाउन चार आना एक पैसा दुई दाम जग्गा निशूल्क उपलब्ध गराउनुहुने पुलाचौरका सागर पौडेलको परिवारलाई कार्यक्रममा सम्मान गरिएको थियो । समूहले छ लाख ९५ हजार रुपैयाँको लागतमा भवन निर्माण गरेका हुन् । तिन लाख ४३ हजार रुपैया ऋण रहेको समूहकी सचिव प्रभा सुवेदीले बताउनुभयो ।

गरिवी निवारण कोषको सहयोगमा धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रद्धारा सञ्चालीत द्धन्द्ध प्रभावितका लागि बजार निर्माण परियोजनाले पुलाचौरका उद्यमीहरुलाई ऊनीका कपडा बुन्ने मिटिड मेसीन लगायत १२ लाख तिस हजार रुपैयाँ बराबरको सामाग्री र कच्चा पदार्थ सहयोग गरेको छ ।

संघ अन्तरगतका तिन वटा समूहमा आवद्ध ७६ जना मध्य पहिलो चरणमा ९ जनालाई तिन महिने स्विटर, गलबन्दी, मखलर, हाईनेक, स्कुल पोशाक, टोपी, कपडा बुन्ने तालीम समेत प्रदान गरिएको छ । पहिलो चरणको तालीम लिएकालाई क्षमता विकास, नयाँलाई तालीमका साथै कच्चा पदार्थको आवश्यकता रहेको उद्यमीहरुले बताएका छन् ।

संघकी अध्यक्ष शान्ती थापाको अध्यक्षता, वडा सदस्य यामकुमारी पुनको सञ्चालन र कोषाध्यक्ष रामकुमारी खत्रीको स्वागत मन्तब्यमा सम्पनन कार्यक्रममा प्रेमा रामदामको समूहले गित मार्फत स्वागत गर्नुभएको थियो ।

सो भवनमा सामुहिक रुपमा कपडा बुनेर बिक्री गरी आयआर्जन गर्ने संघको योजना रहेको छ । यसअघि घर भाडामा लिएर सिप सिक्ने र सामान बनाउने गरेका उद्यमीहरुलाई आफ्नै भवन बनेपछि सजिलो भएको छ ।