ताजा समाचार:
Search

थकाली समाजद्धारा रातोढुङ्गामा सामुदायिक भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
मालीका १५ माघ । IMG_5062म्याग्दीको मालीका गाउँपालिका ६ रातोढुङ्गामा थकाली सेवा समाज दरवाङ क्षेत्रले सामुदायिक भवन निर्माण गरेका छन् ।

भेला, बैठक, छलफल, तालीम, बिवाह, छेवार, किरीया जस्ता कार्यक्रम गर्न स्थानीयलाई सुबिधा पुगोस भन्ने उद्देश्यले सरकारी निकायको सहयोग बिनै थकाली समुदायले २७ लाख रुपैयाँ भन्दा बढी खर्च गरेर भवन निर्माण गरेका हुन् ।

सभाहल सहितको दुई तले भवनको सोमबार थकाली सेवा समाजका केन्द्रिय अध्यक्ष कृष्णकुमारी भट्टचनले उद्घाटन गर्नुभयो । भवनको उद्घाटन गर्दै अध्यक्ष शेरचनले समाजले थकाली समुदायको कला, संस्कार र संस्कृतीको संरक्षणमा प्राथमिकता दिएको बताउनुभयो ।

शेरचनले उक्त भवन निर्माणका लागि व्यक्तिगत रुपमा पचास हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको थियो । भवन निर्माणका लागि देश बिदेशमा रहेका थकाली समुदायबाट २९ लाख ९७ हजार ६२५ रुपैयाँ सहयोग जुटाइएको थियो । २७ लाख १८ हजार ९९७ रुपैयाँको लागतमा भवन निर्माण भएको कोषाध्यक्ष बलबहादुर भट्टचनले जानकारी दिनुभयो ।
मंगला गाउँपालिका ५ का लिला र पदम तुलाचनले दिवंगत अभिभावक भक्तबहादुर र हिरा शेरचनको स्मृतीमा तिन लाख र बिदेशमा रहेका थकाली समुदायले आठ लाख ६८ हजार ७४५ रुपैयाँ सहयोग गरेका छन् ।

समाजको महिला समूहले भवन निर्माणमा सक्रिय भुमिका निर्वाह गरेकोमा कोषाध्यक्ष भट्टचनलाई सम्मान गरेका थिए । थकाली समुदायले भवन निर्माण गरेपनि अन्य समुदायको दुख, सुख र सामाजिक काममा भवनको प्रयोग गरिने समाजले जनाएको छ ।

सो कार्यक्रममा मालीका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र ६ नम्बर वडाका अध्यक्ष सन्तोष सुवेदीले सरकारी निकायको सहयोग बिनै भवन निर्माण गरेर दरवाङ क्षेत्रका थकाली समुदायले नमुनायोग्य काम गरेको बताउँदै स्थानीय तहबाट आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वडा अध्यक्ष सुवेदीले भवनका लागि व्यक्तिगत रुपमा पाँच हजार ५५५ रुपैयाँ उपलब्ध गराउनुभयो ।

कार्यक्रममा थकाली समाजका केन्द्रिय सदस्य गोपाल भट्टचन, बेनी क्षेत्रका सचिव सुन्दरमान शेरचनले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो । थकाली सेवा समाज दरवाङ क्षेत्रका अध्यक्ष खड्गबहादुर भट्टचनको अध्यक्षता, सचिव धनबहादुर भट्टचनको सञ्चालन र केन्द्रिय सदस्य पृथ्वी भट्टचनको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।