‘हाइड्रो भिलेज’ नारच्याङबासीलाई सेयर तालिम

विकल्प न्यूज/बेनी
माघ १० गते । narchang 1हाइड्रो भिलेजका रुपमा स्थापीत म्याग्दीको उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकामा मेरोलगानीले सेयर तालिम आयोजना गरेको छ । गाउँपालिका वडा नम्बर ४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयमा स्थानीयलाई सेयर बजारका बारेमा तालिम प्रदान गरिएको हो ।

नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको रोबष्ट इनर्जीसँगको सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो । तालिममा नारच्याङ सहित आसपास वडाका झण्डै एक सय जनाको उपस्थिती रहेको थियो ।

नारच्याङमा मात्र १० वटा जलविद्युत आयोजना निर्माणको क्रममा छन् । सबै आयोजनाले स्थानीयलाई सेयर जारी गर्ने तयारी थाल्दै गर्दा आयोजना गरिएको तालिमले आफुहरुलाई सहज भएको तालिमका सहभागिहरुको भनाई छ ।

‘सामान्य किसिमको दैनिकी बिताउने हामीहरुलाई यो तालिम धेरै महत्वपुर्ण बन्यो ।’ जलविद्युत क्षेत्रको सेयरका बारेमा सामान्य जानकार प्रभा माविका पुर्व प्रधानाध्यापक तेजबहादुर गुरुङले बताए ।

तालिममा सहभागि अन्नपुर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामी भन्छन्, सेयर सेयर भनेको सुनेका मात्र थियौं । अब कम्तीमा कुनै पनि कम्पनीको साधारण सेयरमा नियमित आवेदन गर्दै त्यस्ता सेयर बिक्री गर्न सक्ने भएका छौं । यसलाई व्यवहारमा उतार्न म सक्दो पहल गर्नेछु ।’

स्टक ब्रोकर नम्बर ५९ दिव्या सेक्यूरिटिज एण्ड स्टक हाउसको बागलुङ शाखाका प्रमुख कुमार शर्माले तालिमका सहभागिहरुलाई सेयर कारोबारमा आफुहरुले सहजीकरण गर्ने बताएका थिए । उनले बैंक खाता तथा डिम्याट खाता खोल्न आग्रह गर्दै स्थानीयलाई सेयर कारोबारमा समस्या भए आफुहरुले सघाउने प्रतिवद्धता जनाएका थिए ।

सेयर तालिमसँगै जलविद्युत आयोजनामा कार्यरत कर्मचारी र स्थानीय सहित झण्डै ४० जनालाई समानान्तर रुपमा व्यवसाजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धि तालिम पनि प्रदान गरिएको थियो । merolagani.com