म्याग्दीमा पशु विकासको करिब साढे दुई करोड बजेट अन्यत्र बिनियोजन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ७ माघ । IMG_4714

म्याग्दीमा पशु विकासका लागि पशुपंक्षि विकास मन्त्रालयले पठाएको करिब साढे दुई करोड रुपैया बजेट स्थानीय तहहरुले अन्यत्र बिनियोजन गरेका छन् ।

जिल्ला पशु सेवा कार्यालयले आईतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुले स्थानीय तहले पर्याप्त बजेट बिनियोजन नगर्दा काम गर्न नसकिएको गुनासो गरेका छन् ।

पशु सेवा कार्यालयका अनुसार मन्त्रालयले म्याग्दीका छ वटा स्थानीय तहलाई पशुपंक्षी विकासको योजना तथा कार्यक्रमका लागि तिन करोड ९२ लाख रुपैया पठाएको थियो ।
तर योजना तर्जुमा र बजेट बिनियोजनका क्रममा समन्वय हुन नसक्दा दुई करोड ४२ लाख रुपैया बजेट सडक, भवन, खानेपानी, विद्युत जस्ता पूर्वाधार योजनामा बिनियोजन भएको पशु सेवा कार्यालयले जनाएको छ ।

बेनी नगरपालीका, धौलागिरी, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाले पशुपंक्षि विकासका लागि एक करोड ५० लाख रुपैयाको बजेट स्विकृत गरेको पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले बताउनुभयो ।

सो कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय, स्थानीय तहका पशु सेवा शाखा र एक गाउँ एक प्राबिधिकहरुबीच स्थानीय तहमा सञ्चालीत पशु विकास कार्यक्रम, रानीखेत र पिपीआर रोग नियन्त्रणका लागि भएका पहलको विषयमा छलफल भएको थियो ।

कुखुरामा देखिने रानीखेत र पशुहरुमा देखिने पिपीआर रोग नियन्त्रणका लागि खोप अभियान चलाउन पहल गर्नुपर्ने सहभागीको भनाई थियो । बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुन र पशु चिकित्सक जिवन आचार्यले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा पशु विकास अधिकृत नरबहादुर बानियाले स्वागत गर्नुभएको थियो ।