ताजा समाचार:
Search

ताकममा कोटखोला खानेपानी आयोजना निर्माण तिब्र

विकल्प न्यूज/बेनी
माघ ३ गते ।Takam Ma Khanipanoम्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकममा कोटखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । पँधेरा र सार्वजनिक धाराबाट पानी ओसारेर उपभोग गर्दै आएका ताकमका बासिन्दा घरघरमा निजी धारा जडान गर्ने अभियानमा जुटेका छन् । पानीको स्रोत र व्यवस्थापनको कमीका कारण ताकममा बर्षौदेखि खानेपानीको असुबिधा छ ।

प्रत्येक घरमा धारा जडान गर्ने लक्ष्य सहित सञ्चालीत आयोजनाको करिब सत्तरी प्रतिशत निर्माण कार्य सकिएको उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले जानकारी दिनुभयो । वि.स २०७३ देखि सुरु भएको आयोजना २०७४ चैत सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मुख्य र शाखा पाईप लाईन विस्तार गर्ने, ईन्टेक, रिजर्भ टंकी, आरबिटी लगायतका संरचना बनाउने काम करिब सकिएको छ । घर घरमा धारा बनाउने र पाईप जडान गर्ने काम भैरहेको छ । मालीका गाउँपालीका ५ देविस्थान र ताकमको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटीमुलको मुहानबाट प्रतिसेकेण्ड ४ लिटरका दरले पानी आपुर्ती हुने जनाइएको छ ।
आयोजनाको १३ वटा रिजर्भ टंकी निर्माण भएको छ । उपभोक्ताले पाईपलाईन खन्ने, निर्माण सामाग्री ढुवानी गर्ने लगायतका काममा श्रमदान गरेका छन् । प्रतिघर ६५ दिनका दरले श्रमदान गर्नुपर्ने स्थानीय बासिन्दा गोपाल आचार्यले बताउनुभयो ।

आयोजनाबाट साविक ताकम गाविसको ३, ४, ५ र ६ नम्बर वडाका ३५६ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत निर्माण हुन लागेको आयोजनाको कुल लागत दुई करोड ६७ लाख ८८ हजार ५५५ रुपैयाँ अनुमान गरिएको छ ।

परियोजना निर्माणका लागि फिनल्याण्ड सरकारले ४२ लाख १९ हजार ८८०, नेपाल सरकारले ४२ लाख १९ हजार ८८०, जिल्ला समन्वय समितिको दश लाख ७१ हजार ५४२ र वडा कार्यालयले १६ लाख सात हजार ३१३ रुपैयाँ लगानी रहने जनाइएको छ ।

उपभोक्ताको श्रम तथा नगद गरि ९१ लाख दुई हजार २२ रुपैयाँ लगानी रहने आयोजनाका लागि भारतीय दुतावासले ६५ लाख ६७ हजार रुपैया बराबरको पाईप, सिमेन्ट लगायतका निर्माण समाग्री सहयोग गरेको छ । उपभोक्ताको सुबिधा र आयोजनाको दिगो सञ्चालनका लागि निजी धारा जडान गर्न लागिएको उपभोक्ता समितिका ऋषीराम सुवेदीले बताउनुभयो ।