ताजा समाचार:
Search

भुरुङ तातोपानीमा सामुदायिक विद्यालयले सुरु ग¥यो आवासीय सेवा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ पुष ।
Himalayan Shool 4म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मान्द्रेढुङ्गामा रहेको हिमालयन आधारभुत विद्यालयले आवासीय सेवा सुरु गरेको छ । कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालय आवासीय रुपमा सञ्चालन हुने जिल्लाकै पहिलो सामुदायीक विद्यालय बनेको छ । विद्यार्थीको पढाईप्रती रुची बढाउने, सिकाई उपलब्धी वृद्धी र गुणस्तर सुधारका लागि आवासीय कक्षा सुरु गरेको वडा अध्यक्ष समेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद फगामीले बताउनुभयो ।

सबै विद्यार्थीलाई विद्यालयमै छात्रावास सञ्चालन गरेर खाना र आवासीय सुबिधा दिइएको छ । बिदाको समयमा मात्र उनीहरु घर जाने गर्छन् । विद्यालय समयको अतिरित्त बिहान र बेलुकी शिक्षकहरुको निगरानीमा पढाउने गरिन्छ । खेल्ने, सुत्ने, खाजा, खाना, खाने, अध्ययन गर्ने समय तालीका बनाइएको प्रअ रामप्रसाद तिवारीले बताउनुभयो ।

विद्यालयको आफ्नै क्यान्टीन सञ्चालन भएको छ । सो विद्यालयमा २५ जना बालबालिका अध्ययन गर्छन् । अभिभावकले आलोपालो गरेर खाद्यान्न र तरकारी उपलब्ध गराउँछन् । शिक्षकको अतिरिक्त समयको तलब र ब्यवस्थापन खर्चका लागि विद्यालयले देउसीभैलो खेलेर आर्थिक स्रोत जुटाएको छ । गत तिहारमा भैलो खेलेर एक लाख ९० हजार रुपैया जुटाइएको थियो । Himalayan Shool 1यही पुष १२ गतेदेखि आवासीय कक्षा सञ्चालन गरिएको हो । बिदेशमा रहेका स्थानीयबासी, विभिन्न दाताहरुको सहयोग र देउसीभैलोको रकम अक्षयकोषमा जम्मा गरेर सोको ब्याजबाट विद्यालयमा आवासीय कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको अध्यक्ष फगामीले बताउनुभयो ।

छ जना शिक्षक कार्यरत सो विद्यालयमा तिन जना निजी स्रोत र तिन जना सरकारी दरबन्दिका छन् । सबै कक्षा कोठामा शैक्षिक सामाग्रीको प्रर्दशनी गरेर पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ । कक्षा कोठाभित्र विभिन्न विषयसंग सम्बन्धित शैक्षिक सामाग्रीहरु झुण्डाइएको छ ।

लर्न संस्थाले शिक्षकलाई तालीम प्रदान गरेको थियो । विद्यालयले अंग्रेजी माध्यमबाट समेत पठनपाठनको तयारी गरेको छ । निजी विद्यालय सरहको शिक्षा र गुणस्तर दिने उद्देश्यले आवश्यक पूर्वाधारको समेत व्यवस्थापन गरिएको अध्यक्ष फगामीले बताउनुभयो ।

अन्नपूर्ण गाउँ कार्यपालीकाको सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका फगामीले गाउँपालीकाको शिक्षा नितीमा आवासीय विद्यालयको अवधारणाको प्रस्ताव गर्ने बताउनुभयो । अन्नपूर्ण गाउँपालीकाका अधिकांश सामुदायीक विद्यालयहरुमा न्युन विद्यार्थी संख्या रहेको छ ।

बसाईसराई र सहरका निजी विद्यालयमा छोराछोरीलाई पढाउन लैजाने बढ्दो क्रमसंगै सामुदायीक विद्यालयमा विद्यार्थीको संकट परेको छ । आवासीय सुबिधा, अंग्रेजी माध्यमबाट पठनपाठन, सिर्जनशिल र विद्यार्थीमैत्री शिक्षण बिधी, पूर्वाधारको व्यवस्था, भएपछि शैक्षिक गुणस्तर बढ्ने र अभिभावकको विश्वास आर्जन हुने अध्यक्ष फगामीले विश्वास व्यक्त गर्नुभयो ।