ताजा समाचार:
Search

रघुगंगामा सार्वजनिक यातायातको भाडादर समायोजन

विकल्प न्यूज/बेनी
पुस २२ गते ।

raghuganga gaupalikaम्याग्दीको रघुगंगा गाउँपालिका कार्यालयको पहलमा गाउँपालिका अन्र्तगत विभिन्न ठाउँमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ ।

यातयात व्यवसायीले मनपरि चर्को भाडा असुल गर्दै आएको गुनासो बढेपछि गाउँपालिका कार्यालय र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच छलफल गरि भाडादर समायोजन गरिएको हो । यातायात व्यवसायी समितिसंगको छलफलबाट गाउँपालिका कार्यपालिकाको बैठकले सदरमुकाम बेनीदेखि सवारी साधन सञ्चालन हुँदै आएको गाउँपालिकाको हरेक ठाउँको लागि उचित भाडादर तय गरेको गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले बताउनुभयो ।

कार्यपालिकाको बैठकबाट भएको भाडादरको निर्णय अटेर गरि चर्को भाडा असुली गर्ने सवारी चालकलाई सम्बन्धित निकायसंग समन्वय गरि कारबाहि गरिने गाउँपालिकाले जनाएको छ । अहिले सर्वसाधारणले टिकट नकाटीकनै यात्रा गर्ने र मालसामान बोक्ने सवारीमा चढ्ने गरेको कारण चर्को भाडा तिर्नुपर्ने बाध्यता आएको भन्दै त्यस्तो कार्यलाई समेत ट्राफिक प्रहरीसंगको समन्वयमा नियमन गरिने बताउनुभयो ।

उहाँले सर्वसाधारणको माग अनुसार सडक सञ्जाल विस्तार भएको र सवारी साधन सञ्चालन हुन योग्य सडकहरुमा यातयात व्यवसायीहरुसंग छलफल गरि थप सवारी साधन सञ्चालन गर्ने प्रयास समेत भईरहेको बताउनुभयो । गाउँपालिका अन्र्तगत राखु क्षेत्रमा मनपरि चर्को भाडा असुलि भएको भन्दै वडा नम्बर ३ पिप्लेमा रहेको क्रियटिभ युथ ग्रुपले दुई साता अघि गाउँपालिका र प्रशासनको ध्यानकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको थियो ।

दुरीअनुसारको भाडादर कायम गर्न, सार्वजनिक यातयातमा पिप्लेलाई निश्चित सिट ब्यवस्था गर्न, सवारी साधनमा भाडादर टाँस गर्न माग गर्दै सरोकारवालाको ध्यानकार्षण गराएको क्रियटिभ युथ समुहले गाउँपालिकाले गरेको निर्णय सकरात्मक रहेको भन्दै अहिले निर्धारण भएको भाडादरलाई कार्यान्वयनका लागि नियमित अनुगमन गर्न आग्रह समेत गरेको छ ।
गाउँपालिका र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच भएको छलफलबाट बेनीदेखि पिप्लेको बगैचासम्म रु १००, पिप्लेको धरमपानी चोकसम्म रु १५०, दुलेपानी र रिसेनचौतारीको लागि रु १७५, रानीपौवासम्म रु १५० भाडादर कायम गरिएको छ । त्यसैगरि बेनीदेखि मौवाफाँटसम्म रु १७०, कलेजबाङको लागि रु २३०, अक्षताको लागि रु २१०, मैदानसम्म रु २००, थापाटोलको लागि रु २२०, साझापानीसम्म रु २३०, पञ्चासे र बेगको लागि रु २७५, सिमसम्म रु ३००, सिरुवारीको लागि रु ३२० भाडादर तोकिएको छ ।

त्यसैगरि बेनीदेखि दग्नाम सम्म रु २५०, झिँसम्म रु २१५, घाङ्ग्रीसम्मको रु २४०, पाखापानीको लागि रु ३००, तिप्ल्याङको लागि रु १३५, बाँदुकको लागि रु २२५, ठाडाखानीसम्म रु ५००, चिमखोलाको लागि रु ८५०, र घ्यासीखर्कको लागि रु ९५० भाडादर कायम गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।