बेनी खानेपानीले ल्यायो मोवाईलबाट महशुल भुक्तानी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २१ पुष ।IMG_3484म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मोवाईलबाट खानेपानीको महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ । संस्थाको शुक्रबार बेनीमा भएको १८ औ वार्षिक साधारणसभामा उपभोक्ताले महशुल बुझाउन कार्यालय सम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको जानकारी गराइएको हो । सचिव माधवप्रसाद रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रबिधिको प्रयोग गरेर उपभोक्तालाई छिटो, छरितो र सहज रुपमा सेवा प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।

स्मार्ट वाटर टेक्नोलोजी लागु गरेर मोवाईलबाट महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउन लागिएको हो । यस्तो प्रबिधि लागू भएपछि उपभोक्ताले घरमै बसेर खानेपानीको महशुल भुक्तानी गर्न पाउनेछन् । दक्षिण कोरीयाको यस्तो प्रबिधि नेपालमै पहिलो पटक म्याग्दीमा भित्र्याउन लागिएको हो ।

बेनीमा स्मार्ट वार टेक्नोलोजी लागु गर्ने विषयमा नगर विकास कोष र कोरिया स्थित ईन्कोनी नेशनल युनिभर्सीटी बिच २०७४ कात्तिक १८ गते कोरीयामा प्रारम्भिक सम्झौता भएको छ । सम्झौता कार्यान्वयनका लागि युनिभर्सीटीका प्रतिनिधि, कोषका पदाधीकारी र बिशेषज्ञको टोली निकट भविश्यमा बेनी आउन लागेको अध्यक्ष सुवासकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

IMG_3473नगर विकास कोषका कार्यकारी निर्देशक मनिराज महत, कोषका समाजशास्त्री सुवासराज पन्त, बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, डाक्टर इन्दिरा पराजुली, बसन्त बन र अध्यक्ष श्रेष्ठबीच बैठक बसेर पहिलो चरणमा छलफल गरिएको छ । स्मार्ट वाटर टेक्नोलोजी लागू भएपछि बाढी पहिरोका कारण पाइप फुटे वा अन्य संरचनामा क्षत्ती पुगेमा ईन्टरनेट र मोवाईलबाट जानकारी प्राप्त गर्न सकिनेछ् ।

स्विच भल्भ र गेट भल्व कम्प्युटरबाट नियन्त्रण हुने, आधुनिक उपकरणको प्रयोगबाट मिटर रिडीङ हुने, प्रयोगशालालाई व्यवस्थित र स्तरोन्नति गरिने, विलीङ तथा लेखा सफ्टवयर प्रयोग गरिने, पाईपलाईन तथा भौतिक संरचनाहरुमा रेट्रो फिटिङ गरिने, कम्प्युटरबाट उपभोक्ताको मिटरका बारेमा जानकारी लिइने र पानीलाई बोट्लिङ गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सकिने छ ।

बेनी बजारका ९६१ घरधुरी उपभोक्तालाई खानेपानी सुबिधा प्रदान गर्दै आएको आयोजनाको यसै वर्ष छ करोड पन्ध्र लाख २७५ रुपैयाको लागतमा स्तरवृद्धी गरी चौबिसै घण्टा प्रतिसेकेण्ड बिस लिटर खानेपानी आपुर्ती गर्ने क्षमत्ताको बनाइएको छ । साधारणसभामा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले संस्थाको प्रबिधिकरण गर्ने योजनालाई नगरपालीकाबाट पूर्ण सहयोग रहने बताउनुभयो ।

मुहानदेखि उपभोक्ताको मुख सम्म शुद्ध पानी उपलब्ध गराउन प्राथमिकता दिने बताउनुभयो । प्रजिअ कृष्णप्रसाद अधिकारी, खानेपानी तथा सरसफाई सब डिभिजन प्रमुख ईश्वरी शर्मा, बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, उपभोक्ता यजनलाल शाक्यले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष तुलसीलता श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष याम शाक्यले गत आर्थिक वर्षको ९६ लाख २६ हजार ५८५ रुपैया बराबरको आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा मिटर रिडर शौरभ किसानलाई नगद पाँच हजार रुपैया सहित उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो । सभाले संस्थाको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।