अन्नपूर्णमा भलिबल खेलको प्रशिक्षण सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ पुष । Annapurna Khel Parchikchan 7म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भलिबल खेलको प्रशिक्षण सुरु भएको छ । गाउँपालिकाको आयोजनामा भुरुङ तातोपानीमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

गाउँपालिकाकाको वडाबाट पुरुष र महिला भलिबलका खेलाडीहरुलाई छनौट गरी उनिहरुलाई खेलसम्बन्धि प्रशिक्षण प्रदान गर्न लागिएको हो । प्रशिक्षणको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले उद्घाटन गर्नुभयो ।

पुरुष र महिला भलिबलका १४–१४ जना खेलाडीहरुलाई खेल प्रशिक्षक तेजेन्द्र बानियाँले प्रशिक्षण दिनुहुने जनाइएको छ । गाउँपालीकाको सामाजिक विकास समितिका संयोजक २ नम्बर वडाका अध्यक्ष ओमप्रसाद फगामी र युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टकबहादुर पुनको संयोजनमा प्रशिक्षण सञ्चालन भएको हो ।

छिट्टै बास्केटबल खेलको पनि प्रशिक्षण सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनका सहयोगी सुरेन गुरुङले जानकारी दिनुभयो । बेनीमा पुष २८ देखि सुरु हुने छैटौ म्याग्दी महोत्सवमा सञ्चालन हुने स्थानीय तह स्तरीय पुरुष महिला र बास्केटबल प्रतियोगितालाई लक्षित गरेर खेलाडी छनौट गरी प्रशिक्षण सञ्चालन गरिएको हो ।

यसैगरी धौलागिरी गाउँपालिकाले वडा स्तरीय प्रथम अध्यक्ष कप पुरुष महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । मुनामा पुष २४ र २५ गते सञ्चालन हुने प्रतियोगितामा बिजेता र उपबिजेतालाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद दश र पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

सो प्रतियोगिताबाट उत्कृट खेलाडी छनौट गरी म्याग्दी महोत्सवको खेलकुद प्रतियोगितामा सहभागी गराईने गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।