महभिर झरना पर्यटकको पर्खाइमा

विकल्प न्यूज/बेनी
पुस १७ गते ।

Mahabir Jharanaप्रशस्त पर्यटकीय सम्भावना भएर पनि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको महभिर झरना ओझेलमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण बेनी–जोमसोम सडकको छेउमै रहेको मनमोहक र आकर्षक महभिर झरना ओझेलमा परेको हो । बेनी–जोमसोम सडकमा सवारी साधन मार्फत दैनिक हजारौ आन्तरीक तथा बाह्य पर्यटक ओहोर दोहोर गरेपनी नजिकै रहेको महभिर झरना सुनसान हुने गर्छ ।

पहाडको फेदीमा करिब एक सय मिटर माथिबाट खस्ने महभिर भरना निकै आकर्षक र मनमोहक रहेको स्थानीयबासी मिलन गर्बुजाले बताउनुभयो । छङ छङ गर्दै झर्ने झरनामा ईन्द्रेणी लाग्दा अझै मनमोहक देखिने गर्छ । पूर्वाधार विकास, प्रचारप्रसार र प्रर्वद्धन हुन नसक्दा ओझलमा परेको उहाँको भनाई छ ।

उक्त झरना नजिकै मन्दिर पनी रहेको छ । जहाँ पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले झरनाको धार्मीक महत्व समेत छ । बेनी–जोमसोम सडक देखि दश मिटर नजिकै रहेको झरना बाटैबाट देखिन्छ । केही पर्यटक गाडीबाट ओर्लीएर झरना नजिकै पुगेर अवलोकन संगै तस्विर खिच्ने पनी गरेका छन् ।

घेराबार, विश्रामस्थल, पार्कीङ स्थल, पदमार्ग निर्माण र प्रचारप्रसार हुन सकेको छैन् । यातायातको पहुँच रहेकाले उक्त झरनामा साहासीक खेल क्यानोईङ पनी सञ्चालन गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

अन्नपूर्ण गाउपालिकाको ७ नम्बर वडाका अध्यक्ष गमबहादुर फगामीले महभिर झरनालाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि यो वर्ष वडा कार्यालयले पाच लाख रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । महभिरका बासिन्दाहरुसंग छलफल गरेर सवारी पार्कीङ, रेलीङ, विश्रामस्थल र पदमार्ग निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष फगामीले बताउनुभयो ।

यसैगरी सडक छेउमा झरनाको बारेमा जानकारी मुलक बोर्ड राखिने भएको छ । पूर्वाधार निर्माण गरेर व्यवस्थीत बनाएपछि प्रवेश शूल्क लिने र गाउपालिकाको आयस्रोतको रुपमा समेत परिचालन गर्न सकिने सम्भावना रहेको वडा अध्यक्ष फगामीले बताउनुभयो । झरनाको पर्यटन विकास गर्न सकेमा नजिकै होटल तथा रेष्टुरेन्ट, होमस्टे सञ्चालन गरेर स्थानीयबासीले आम्दानी गर्न सक्ने सम्भावना समेत छ ।