वाम गठबन्धनबाट मुख्यमन्त्री बन्न हानथाप, कहाँ कसको दावी ?

काठमाडौं २७ मंसिर

pradesh sava   दुई चरणमा गरी भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइसकेको छ । निर्वाचन परिणाम अनुसार २ नम्बर प्रदेशबाहेक अन्य ६ प्रदेशमा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनको सरकार बन्ने निश्चित जस्तै छ ।

प्रदेश नम्बर २ मा भने मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले अन्य दलसंग मिलेर सरकार बनाउने सम्भावना छ ।

६०÷४० को अनुपातमा चुनाव लडेका नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेशको मुख्यमन्त्रीमा भागवण्डा भइसकेको छैन । प्रदेश नम्बर २ मा मधेश केन्द्रित दलले सरकार बनाएमा बाँकी ६ मा एमाले र माओवादीले भागवण्डा गर्नेछन् । चुनाव लगत्तै पार्टी एकीकरणको सहमति भएकोले भागवण्डामा समस्या नपर्ने दुवै दलका नेताहरु बताउँछन् ।

प्रदेश नम्बर १ मा वामगठबन्धनको तर्फबाट एमालेले मुख्यमन्त्री पाउने सम्भावना छ । त्यसो भएमा शेरधन राई मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ । केपी ओली सरकारमा सञ्चारमन्त्री रहेका राई मुख्यमन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि प्रदेश सभाका लागि चुनाव लड्न गएका थिए । प्रदेश नम्बर १ बाट एमाले सचिव भीम आचार्य र हिक्मत कार्कीको पनि चर्चा हुने गरेको छ ।

प्रदेश २ मा मधेस केन्द्रित दलले मुख्यमन्त्री बनाउने सम्भावना छ । संघीय समाजवादी फोरमले लालबाबु राउतलार्ई अगाडि सार्ने सम्भावना छ । फोरमले २ नम्बर प्रदेशमा सबभन्दा धेरै २० सीट जितेको छ । राजपाले पाएमा जितेन्द्र सोनल या सुरीताकुमारी साहलाई अगाडी सार्ने सम्भावना छ । २  नम्बर प्रदेशमा राजपाले १५ सिट जितेको छ । एमालेले पाएमा सत्यनारायण मण्डलको सम्भावना रहन्छ ।

यो प्रदेशमा एमालेले प्रत्यक्ष तर्फ १२, कांग्रेसले ८ र माओवादीले ६ सिट जितेको छ । समानुपातिकको मतगणनाले यो समिकरणमा फेरबदल हुनसक्छ । वामपन्थी गठबन्धनले फोरमलाई समर्थन गर्ने सम्भावना छ ।

प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीका लागि एमालेका धेरै नेता आकांक्षी छन् । एमालेका अष्टलक्षी शाक्य, राजेन्द्र पाण्डे र पशुपति चौलागाईको सम्भावना बढी छ । मुख्यमन्त्रीमा महिलालाई समेत प्राथमिकता दिनु पर्ने भएकोले अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ । अष्टलक्ष्मी एमालेकी महिला उपाध्यक्ष पनि हुन् । केशव स्थापित, अरुण नेपाल लगायतले पनि दावी गरेका छन् । प्रदेश नम्बर ३ मा एमालेले प्रदेशसभाको प्रत्यक्ष तर्फ ४२ सिट जितेको छ ।

प्रदेश नम्बर ४ मा एमालेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीका मुख्य दावेदार हुन् । मुख्यमन्त्रीको रुपमा किरण गुरुङले पनि दावी गरेका छन् । प्रदेश नम्बर ४ मा माओवादीले पनि मुख्यमन्त्री दावी गर्ने सम्भावना छ । कांग्रेसका युवा नेता प्रदीप पौडेललाई पराजित गरेकी आशा कोइराला खनालको नाम पनि चर्चामा छ ।

प्रदेश नम्बर ५ बाट एमालेका शंकर पोखरेलको धेरै सम्भावना छ । दाङ क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महरालाई टिकट दिने बेलामै पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । माओवादीका कुलप्रसाद केसी स्वनामले पनि मुख्यमन्त्रीका दावेदार हुन् । पोखरेलले मुख्यमन्त्री बनेर दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने भन्दै चुनाव प्रचार गरेका थिए ।

प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादीले पाउने पक्का जस्तै छ । माओवादीका तर्फबाट जुम्लाका नरेश भण्डारी र पूर्वउर्जामन्त्री महेन्द्रबहादुर शाहीको चर्चा छ । कणालीको विकास सम्बन्धी किताव लेखेका माओवादी पोलिटव्युरो सदस्य भण्डारीको बलियो सम्भावना रहेको बताइन्छ । सुर्खेतबाट चुनाव जितेका एमालेका यामलाल कँडेल र सल्यानका प्रकाश ज्वाला पनि मुख्यमन्त्रीका दावेदार हुन् ।

प्रदेश ७ को मुख्यमन्त्री पायो भने पूर्वमन्त्री कर्णबहादुर थापाको चर्चा छ । एमालेले मुख्यमन्त्री पाएको ठाउँमा माओवादीले प्रदेशको सभामुख पाउने सम्भावना छ ।

प्रदेश सभाको निर्वाचन पहिलो पटक भएका कारण को मुख्यमन्त्री बन्ला भन्ने कौतुहलता छ । प्रदेश सभाका लासग भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र प्रदेश सभाकोे अधिवेशन आव्हान गर्नुपर्ने व्यबस्था छ । मुख्यमन्त्रीको निर्वाचन प्रदेश सभाको बैठकको प्राथमिक कार्यसूची हुनेछ । lokantra.com