ताजा समाचार:
Search

मतदातालाई धन्यवाद दिन म्याग्दी र मुस्ताङका बिजयी उम्मेदवार गाउँ पसे

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २६ मंसिर ।

Mustang 5 प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका म्याग्दी र मुस्ताङका उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् ।

मंसिर १० गते भएको मतदान र हालै गरिएको मतपरिणाम अनुसार प्रतिनिधिसभामा एकएक र प्रदेशसभामा दुईदुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दी र मुस्ताङका सबै क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उमेद्वार बिजयी भएका थिए ।

बाम गठबन्धनले मंगलबार अन्नपूर्ण गाउँपालीका १ दोवा, ६ पोखरेबगर र २ भुरुङ तातोपानीमा कार्यक्रम गरेर मतदातालाई धन्यवाद दिएका छन् । सो कार्यक्रममा प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले संघ र छ वटा प्रदेशमा बामपन्थीको बहुमत सहितको सरकार बनाउने अवसर दिएकोमा मतदातालाई धन्यवाद दिदै जनताले लगाएको गुन काम गरेर तिर्ने प्रतिवद्धता जनाउनुभयो ।

अब बन्ने सरकारले ग्रामिण विकास, सम्बृद्धी र सामाजिक परिवर्तनको अभियानमा केन्द्रित हुने बताउँदै एमालेका बैकल्पीक केन्द्रिय सदस्य समेत रहनुभएका थापाले राम्रो काममा साथ र बाटो बिराउँदा खबरदारी गर्न आग्रह गर्नुभयो । प्रदेशसभा क्षेत्र (क)का सदस्य माओवादी केन्द्रका युवा नेता बिनोद केसीले परिवर्तन, राजनितिक स्थिरता, बाम एकता र नयाँ पुस्तालाई रोजेकोमा मतदातालाई धन्यवाद दिदै नेता नभएर जनताको सेवक हुने प्रतिवद्धता जनाउनुभयो ।Pokhabagar Myagdi Bamउहाँले चुनावी अभियानका क्रममा ४ नम्बर प्रदेशको निती, नियमलाई युवामैत्री बनाउने र बैदेशिक रोजगारीको विकल्पमा स्थानीय स्तरमा स्वरोजगार बन्ने योजना तथा कार्यक्रम बनाउन जोड दिने प्रतिवद्धता कार्यान्वयन गर्न प्राथमिकता दिने बताउनुभयो । थापा र केसीले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच जिल्लाको विकासका लागि हातेमालो र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले बामगठबन्धनलाई पार्टी एकतामा परिणत गरि राजनितिक स्थिरता र कम्प्युनिष्ट एकताका लागि जनताले व्यक्त गरेको चाहना पुरा गर्न पार्टीको नेतृत्वलाई दवाव दिने बताउनुभयो ।
सो कार्यक्रममा एमालेका नेताहरु कुलबिर राम्जाली, नारायण पुन, खड्ग गिरी, वुद्धी पुन लगायत एमाले र माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । यसैगरी मुस्ताङबाट संघीय र प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको एमालेका प्रेमप्रसाद तुलाचन, प्रदेशसभा क्षेत्र क का ईन्द्रधारा बिष्ट र ख का महेन्द्र थकाली पनी मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा जुट्नुभएको छ ।

मंगलबार बिजयी उमेद्वारहरुको टोलीले थासाङ गाउँपालीको लेते, कुञ्जो र घाँसामा घरदैलो तथा कोणसभा गरेर मतदातालाई धन्यवाद दिदै मुस्ताङको विकास निर्माण, पर्यटन र कृषिको प्रर्वद्धन, कोरला नाका सञ्चालनमा ल्याउन प्राथमिकता दिने बताउनुभयो । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित हुनुभएकी नरदेवी पुन सहित एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताको टोली पनि मंगला, मालीका र धौलागिरी गाउँपालीकामा मतदातालाई धन्यवाद दिन घरदैलो अभियान गरिरहनुभएको छ ।
सांसदहरुलाई स्थानीय बासिन्दाले स्थीर सरकार बनाउन, ग्रामिण क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायातको क्षेत्रमा सुधारका योजनालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।