लगानी मैत्री वातावरण बनाउन सांसदलाई व्यवसायीको आग्रह

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी, २६ मंसिर ।

IMG_2001म्याग्दी उद्योग बाणिज्य संघले मंगलबार नवनिर्वाचित सांसदलाई सम्मान गरेको छ ।  संघिय सांसद भुपेन्द्र थापा, प्रदेश सांसद नरदेवी पुन र विनोद केसीलाई उद्योग बाणिज्य संघका पदाधिकारीहरु र ब्यवसायीले सम्मानका साथै बधाई ज्ञापन गरेका हुन् । संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको बद्याई तथा शुभकामना कार्यक्रममा बौल्दै प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापाले अव धेरै बोल्ने भन्दा गरेर देखाउने जिम्मेवारी आएको बताउनुभयो ।

जनतासंग गरेको बाचा र उनीहरुको समस्यालाई समाधन गर्ने जिम्मेवारी आएको हुदाँ उक्त कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । साना व्यवसायीको समस्या समाधान र घरेलु तथा साना उद्योगको प्रर्वद्धन गरी रोजगारी सिर्जनामा प्राथमिकता दिने थापाले बताउनुभयो ।

थापाले चुनावी परिणामले नेपालमा कम्युनिष्टको नेतृत्वमा स्थिर सरकार बन्ने पक्का भएको हुदाँ विकास र सम्बृद्र्धी जनताको चाहना पुरा हुने विश्वास दिलाउनुभयो । प्रदेशसभा क्षेत्र (ख)का सांसद नरदेवी पुनले म्याग्दीको प्राकृतिक र मानवीय स्रोत साधनलाई परिचालन गरि रोजगारी सिर्जनासंगै महिलाको समग्र विकासका लागि आयआर्जन सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पुनले राजनितिक स्थिरता र विकासका लागि जनताले दिएको मतको सम्मान हुने काम गर्ने जिम्मेवारी आएको बताउनुभयो । प्रदेशसभा क्षेत्र (क)मा सांसद बिनोद केसीले जनताले दिएको जिम्मेवारी पुरा गर्न सधै पुलको भुमिका भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

जिल्लाको जलविद्युत, कृषि, पर्यटन, जडिवुटी लगायतका प्राकृतिक स्रोत साधनको परिचालन गरि विकास र रोजगारी सिर्जना गर्न निजी क्षेत्रले लगानी भित्र्याउन अगुवाई गर्न केसीले आग्रह गर्नुभयो । नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष प्रमोदकुमार श्रेष्ठ, ४ नम्बर प्रदेश सदस्य कुविरकुमार श्रेष्ठले ब्यवासायीका समस्या समाधान र लगानीमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो ।

त्यस्तै नेपाली काग्रेसका जिल्ला सचिव मिनबहादुर कार्की, नेकपा एमाले जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पौडेल, राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तारानाथ शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघका पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ र निर्वतमान अध्यक्ष जीवनबहादुर विश्वकर्माको शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव लिलाराम गौतमले गर्नुभएको थियो ।