ताजा समाचार:
Search

कांग्रेस अब संसदको तेस्रो दल, देउवाको भविष्य के ?

काठमाडौं २२ मंसिर ।

sherbahadur-deubaप्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणना नतिजाले यसअघि संसदमा पहिलो दलको रुपमा रहेको नेपाली कांग्रेस तेस्रो दल बन्ने संकेत देखिएको छ । विभिन्न जिल्लामा जारी मतगणनामा कांग्रेसको स्थिती नाजुक देखिएको छ ।

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भएको मतगणनामा अधिकाशं स्थानमा वामपन्थी गठबन्धनको अग्रता देखिएकोमा दोस्रो चरणको निर्वाचन भएका जिल्लामा समेत कांग्रेस कमजोर देखिएको छ । जारी मतगणनामा नेकपा एमाले पहिलो बन्ने संकेत देखिएको छ भने दोस्रोमा माओवादी केन्द्र देखिएको छ ।

एमालेसँगको तालमेल गरेर ४० प्रतिशत उम्मेदवारी दिएको माओवादीका अधिकाशं उम्मेदवार अगाडि छन् भने कांग्रेसका उम्मेदवार पछाडि देखिएका छन् । थोरै उम्मेदवार उठाएपनि माओवादी अधिकाशं स्थानमा बलियो देखिएको छ ।

यसअघि कांग्रेसको गढ मानिएका मोरङ, धनुषा लगायतका क्षेत्रमा पनि कांग्रेस कमजोर देखिएको छ । पहिलो चरणमा निर्वाचन भएको क्षेत्रमा रसुवामा मात्र कांग्रेसले जित्ने संकेत देखिएको छ । काठमाडौं उपत्यकाका अधिकाशं निर्वाचन क्षेत्रमा पनि कांग्रेस उम्मेदवार पछाडि परेका छन् ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका स्थानमा कांग्रेसले ७ देखि १२ सिट जित्ने आकलन गरेको थियो । तर स्थिती कांग्रेसले अपेक्षागरे विपरित देखिएको छ । अधिकाशं स्थानको मतगणना प्रारम्भिक अवस्थामै छ, तरपनि देशभर वामपन्थीको लहर चलेका कारण कांग्रेस उम्मेदवारलाई चुनाव जित्न फलामको च्युरा चपाउनु सरह भएको छ ।

दोस्रो चरणमा निर्वाचन भएका क्षेत्र र खासगरी तराईका जिल्लामा धेरै सिट जित्ने कांग्रेसको दावी थियो । तर विमलेन्द्र निधि, कृष्ण सिटौला, शेखर कोइराला, महेश आचार्य जस्ता नेताहरु नै वामपन्थी उम्मेदवारका सामु निरिह जस्तै देखिएका छन् । आचार्य कांग्रेसको घोषणापत्र लेखन समितिका संयोजक थिए ।

नुवाकोट जस्तो कांग्रेसको गढमा रामशरण महत र अर्जुन नंरसिह केसी पछाडि परेका छन् । कांग्रेसको प्रभाव क्षेत्र मानिएको कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी प्रारम्भिक मतगणनामा पछाडि परेकी छिन् ।
निर्वाचनको प्रारम्भिक नजिताले विगतमा कांग्रेसका गढ मानिएका क्षेत्रमा पनि यसपटक कांग्रेस कमजोर देखिएको छ । समानुपातिक तर्फ भने कांग्रेसले माओवादीले भन्दा धेरै सिट जित्ने सम्भावना छ । प्रत्यक्षमा कम जितेमा समानुपातिकले मात्र कांग्रेसको साइज बढ्ने छैन् ।

चुनावमा व्यहोरेको अनपेक्षित परिणामसंगै नेपाली कांग्रेसभित्र नेतृत्वको आलोचना शुरु भएको छ । चुनाव गराएर देशलाई राजनीतिक निकाश दिएपनि पार्टीलाई कमजोर बनाएको भनेर कांग्रेसभित्र देउवाको आलोचना शुरु भएको छ ।

निर्वाचनमा व्यहोरेको पराजयको जिम्मेवारी लिदै सभापति शेरबहादुर देउवाले राजनीनामा गर्नुपर्ने कांग्रेसकै कतिपय नेता कार्यकर्ताले उठाउन थालेका छन् । मतगणनाको शुरुवाती प्रबृत्ति अन्तिमसम्म कायम रहेमा कम्तिमा पाँच बर्षका लागि नेपाली कांग्रेस ‘निरिह प्रतिपक्ष’ बन्ने खतरा देखिएको छ । lokantar.com