म्याग्दीमा मतगणनाकाे तयारी

सन्तोष गौतम\ विकल्प
बेनी १९ मंसिर । dagnam
मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा बिहीबार साँझदेखि मतगणना सुरु गर्ने तयारी भएको छ ।

निर्वाचन आयोगको कार्यतालीका अनुसार दोस्रो चरणमा ४५ जिल्लामा मतदान सकिएलगत्तै साँझ ५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा र २ वटा प्रदेशसभाको छुट्टा छुट्टै तिन स्थानमा मतगणना गरिने कार्यालयका सूचना अधिकारी खेमराज पाठकले जानकारी दिनुभयो । मतगणनाका लागि एउटा समूहमा दश जनाका दरले कर्मचारी खटाइने भएको छ ।

मतगणनाका लागि छनौट गरिएका ९० जना कर्मचारीहरुलाई बुधबार प्रशिक्षण दिइने भएको छ । मतगणना सम्बन्धि छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसो ११ बजे सर्वदलीय बैठक बोलाएको छ ।

मतगणना स्थलमा सुरक्षाका लागि तारबार समेत लगाइएको छ । पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मतगणना सकिएपछि समानुपातीकको मतगणना गर्ने तयारी छ । मंसिर २६ गतेभित्र मतगणना सक्ने कार्यालयको लक्ष्य छ ।

७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातीक तर्फका मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिशेष सुरक्षा व्यवस्था सहित छुट्टा, छुट्टै कोठामा भण्डारण गरेर राखिएको छ ।

मतपेटीकाको निगरानीका लागि राजनितिक दलहरुले चौबिसै घण्टा आफ्ना प्रतिनिधि खटाएका छन् । नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाको घेरामा मतपेटीकाको सुरक्षा गरिएको छ ।

मतपेटीका राखिएको कोठामा तालाबन्दी र लाहछाप लगाएर शिलबन्दी गरिएको छ । उमेद्वार, नेता, कार्यकर्ता र आम सर्वसाधारणमा मतपरिणामको बारेमा कौतुहलता छाएको छ । मतदान लगत्तै मतगणना नभएर एघार दिन कुर्नुपर्दा राजनितिकर्मीहरुलाई बेचैन भएको छ ।