बेनी बजार संरक्षण अायाेजनाले तिब्रता पायाे

विकल्प न्युज । बेनी
मंसिर १८ गते ।beni

नदी कटानका हिसाबले नेपालका जोखिमयुक्त सदरमुकाम मध्यमा पर्ने म्याग्दीको बेनी बजार संरक्षण आयोजनाले तिब्रता पाएको छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी बजारलाई कटानबाट बचाउन तयार भएको गुरुयोजनाको लक्ष्य अनुसार तिब्र रुपमा काम अघि बढेको हो । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङले चालु आर्थिक वर्षमा एघार करोड बत्तिस लाख रुपैया लागतको आयोजना सुरु गरेको छ ।

यसअघिका तिन वर्षसम्म वार्षिक एक करोडको हाराहारीमा बजेट बिनियोजन हुदै आएको आयोजनाका लागि यस वर्ष बजेट बढेर प्राप्त भएको कार्यालयका प्रमुख ईञ्जिनियर खगेन्द्र भट्टचनले जानकारी दिनुभयो । यस वर्ष दुई वटा प्याकेजमा काम गर्नका लागि ठेक्का सम्झौता भैसकेको ईञ्जिनियर भट्टचनले बताउनुभयो ।

म्याग्दी र कालीगण्डकीको दोभान, कालीपुल र मंगलाघाट स्थित नदी किनारको ३५९ मिटर दुरीमा नदी नियन्त्रणका लागि रिटेनीङ र आरसीसी पर्खाल निर्माण गर्न पाँच करोड २६ लाख ५ हजार रुपैयामा ठेक्का सम्झौता गरेको समानान्तर बिएन जेभीले कार्यक्षेत्रमा काम सुरु गरिसकेको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको भवनको पछाडी देखि दोभानमा दोस्रो प्याकेजको काम हुने ठाउँसम्म ३८० मिटर आरसीसि पर्खाल निर्माण गर्न पाँच करोड ८ लाख ३२ हजारमा सम्झौता गरेको खड्का कृष्ण जेभीले काम सुरु गर्ने तयारी गरेको छ । एक वर्षको ठेक्का अवधि भएपनी बर्खा अघिनै सम्पन्न गर्ने लक्ष्य सहित कामलाई तिब्रता दिएको समानान्तर बिएन जेभीका प्रतिनिधि नारायण जिसीले बताउनुभयो ।

नदी कटान नियन्त्रणका लागि किनारमा आरसीसी र मेसीनरी पर्खाल निर्माण गर्ने योजना रहेको छ । आर्थिक वर्ष २०७१७२ देखि ७३७४ को अवधिमा कालीपुलमा रहेको मोटरेबल पुल देखि म्याग्दी उद्योग वाणिज्य संघको भवनको पछाडी सम्म आरसिसी पर्खाल निर्माण भएको छ ।

आर्थिक वर्ष २०७६७७ सम्ममा बेनी बजार संरक्षण आयोजना सम्पन्न गर्ने लक्ष्य सहित तयार भएको डिपीआर गत वर्ष अर्थ मन्त्रालयले स्विकृत गरी बजेटको स्रोत सुनिश्चितता गरेको ईञ्जिनियर भट्टचनले बताउनुभयो । सो आयोजनाका लागि ५३ करोड रुपैया बजेट प्रस्ताव गरिएको छ । बेनी बजार नदी कटानका हिसावले देशमै जोखिमयुक्त सहर मानिन्छ ।

यसअघि नदी किनारमा तारजाली ग्याविन भरेर पर्खाल लगाउदै आएपनि कटानको समस्या दिगो रुपमा समाधानका लागि गुरुयोजना तयार गरि पक्कि पर्खाल लगाउन थालीएको थियो । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलीङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

म्याग्दी र कालीगण्डकीको दोभानमा निर्माण गर्न लागिएको पक्कि पर्खालका कारण खुल्ला मञ्च विस्तार र सडक योजना प्रभावित हुने भएकाले पक्कि पर्खाल केही पछाडी सार्न सब डिभिजनसंग समन्वय गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।